नेपालमा दुई कोरियन कम्पनी : हुन्डाई र किया बीच भारतीय उत्पादनले ल्याएको प्रतिस्पर्धा

काठमाडौं । कोरियन कार निर्माता कम्पनीको नेपाली बजारमा प्रतिस्पर्धा बढ्दै गएको छ । कोरियन कम्पनी हुन्डाई मोटर्सको स्वामित्वमा रहेको हुन्डाई र कियाले बजारमा ल्याएका ४ मोडलमा अहिले प्रतिस्पर्धा चलिरहेको हो ।

हुन्डाई नेपाली बजारमा निकै सफल ब्राण्ड हो । सन् १९९० को दशकमा नै नेपाल आएको हुन्डाई ट्याक्सीको रूपमा पनि विक्री वितरण भएको थियो । सन् १९९८ मा भारतमा उत्पादन सुरु भएसँगै यसको आधिकारीक डिलरको रूपमा एभ्को इन्टरनेशनलले नेपालमा विक्री सुरु गरेको हो । पछि सन् २००९ बाट लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालि यसको आधिकारीक वितरक नियुक्त भएको हो ।

कियाका उत्पादन सुरुदेखि नै कन्टिनेन्टल ट्रेडिङले नेपाल ल्याएको हो । सन् १९९२ मा नेपाल प्रवेश गरेको किया अहिले भारतीय उत्पादन आएसँगै थप चर्चामा रहेको छ । नेपाली बजारमा कियाले अहिले विभिन्न ६ मोडल विक्री गर्दै आएको जानकारी दिएको छ । जसमा भारतमा बनेको सेल्टोस र सोनेट छन् भने कोरियामा उत्पादन भएका स्पोर्टेज, स्वरान्टो, निरो इभी र कार्निभल एमपीभी हुन् ।

हुन्डाईले नेपाली बजारमा अहिले १२ मोडलको विक्री गर्दै आएको छ । जसमा भारतमा उत्पादन भएको सेन्ट्रो, ग्राण्ड आई १० नियोस, आई २०, अउरा, क्रेटा, भेन्यू र भर्ना गरी ७ मोडल छन् । त्यस्तै कोरियामा उत्पादन भएको प्यालिसेड, सान्ता फे, टुसान, आयोनिक इभी र कोना इभी नेपालमा विक्री हुँदै आएको छ ।

पछिल्लो दिनमा कियालाई नेपालमा बजार विस्तामा सहयोग गर्दै आएको भारतीय उत्पादन सेल्टोस र सोनेटको मुख्य प्रतिस्पर्धी हुन्डाई क्रेटा र भेन्यू नै हो । यी ४ मोडलमा दिइएको फिचर अधिकांश उस्तै छन् भने प्ल्याटफर्म पनि एउटै हो ।

भारतीय बजारमा कोरियन उत्पादनको बजार हिस्सा बढाउनकै लागि किया ब्राण्डको सुरुवात गरेको हुन्डाईले इन्जिन, प्ल्याटफर्मदेखि विभिन्न पाट्स सेयरिङ गरेर किया इन्डिया सुरुवात गरेको हो । क्रेटाको प्ल्याटफर्ममा सेल्टोस र भेन्यूको प्ल्याटफर्ममा सोनोट आएका हुन् ।

नेपालमा हुन्डाई र कियाको बजार

सन् २०२०/२१ को आयात तथ्यांकलाई आधार मान्दा हुन्डाईले एक वर्षको अवधिमा २ हजार ८४४ यूनिट गाडी आयात गरेको देखिन्छ । यसै अवधिमा कियाले १ हजार २४५ यूनिट गाडी आयात गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । विभिन्न ३५ ब्राण्डले कुल ११ हजार ७०३ यूनिट गाडी आयात गर्दा हुन्डाई र कियाको आयात हो यो । माथिको तथ्यांकले नेपालमा कियाको तुलनामा हुन्डाईको लोकप्रियता बढी भएको देखिन्छ ।

कियाको बजार हिस्सामा ठूलो भूमिका सेल्टोसले खेलेको छ भने सोनेटको आयात पनि राम्रै संख्यामा भएको छ । यी दुई मोडल बाहेक स्पोर्टेज बाहेक अन्य मोडल दोहोरो अंकमा आयात भएको देखिदैन ।

हुन्डाईको सर्वाधिक सफल मोडल क्रेटा, ग्राण्ड आई १० नियोस र भेन्यू देखिएका छन् । साथै, सेन्ट्रो, आई २० जस्ता मोडलको विक्री पनि राम्रो रहेको छ ।

विक्रीपछिको सेवा

हुन्डाई र कियाको विक्रीपछिको सेवामा पनि प्रतिस्पर्धा सुरु भएको छ । यद्यपि सर्भिस नेटवर्कमा हुन्डाई निकै अगाडि देखिन्छ । कियाको विक्री केन्द्र (शोरुम) १३ वटा पुगेको छ भने सर्भिस सेन्टरको संख्या १२ रहेको कन्टिनेन्टल ट्रेडिङले जनाएको छ ।
लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार हुन्डाईका विक्री केन्द्र १४ र सर्भिस नेटवर्क १८ वटा रहेको छ । सडकमा धेरै गाडीको उपस्थिति रहेको कारण हुन्डाईले सर्भिसमा विशेष ध्यान दिएको जनाएको छ । धेरै गाडी विक्री भएसँगै कम्पनीको स्पेयर पाट्समा बलियो पटक हुनु स्वभाविक हो ।

४ मोडलमा बीच प्रतिस्पर्धा

हुन्डाई क्रेटा र किया सेल्टोस एक आपसका प्रतिस्पर्धी हुन् भने हुन्डाई भेन्यू र किया सोनेट पनि सब फोर मिटर सेग्मेन्टका प्रतिस्पर्धी मोडल हुन् । यी सबै मोडल भारतमा उत्पादन भएका हुन् । सन् २०२०/२१ को आयात तथ्यांकमा हुन्डाईको दुवै मोडल कियाभन्दा बढी आयात भएका छन् ।

मूल्यमा अन्तर

किया र हुन्डाईका चल्तीका मोडलमा कम्तीमा १ लाख रुपैयाँ रहेको पाउन सकिन्छ । कियाका उत्पादन हुन्डाईको तुलनामा केही महंगा रहेका छन् ।

निष्कर्ष

कियाले नेपालमा आफ्ना उत्पादन विक्री गर्न सुरु गरेको ३० वर्ष पुग्नै लागेको भए पनि ग्राहक लक्षीत योजना, ब्राण्ड निर्माण, विक्री पछिको सेवा, प्रविधि मैत्री वातावरण निर्माण जस्ता क्षेत्रमा अझै धेरै काम गर्नुपर्ने देखिएको छ ।

हुन्डाईले ग्राहक लक्षित योजनामा नेपालमा उपलब्ध सबै ब्राण्डलाई पछाडि पार्दै आएको छ भने हुन्डाई ब्राण्डसँग ग्राहकलाई जोड्न पनि ‘हुन्डाई परिवार’ जस्तो स्कीम ल्याएर काम गर्दै आएको छ । रिकन्डिसन बजारमा हुन्डाई ‘एच प्रमिस’ र आफ्ना हरेक विषय डिजिटल मैत्री निर्माण गर्नु हुन्डाईको बलियो पक्ष रहेको छ ।


Back_to_top