फुल चार्जमा २३५ किलोमिटर गुडाउन सकिने ‘लाइभवायर वान’

काठमाडौं । हार्ले डेभिडसनले आफ्नो सबै इलेक्ट्रीक मोटरसाइकल नयाँ ब्रान्ड नेममा विक्री गर्ने भएको छ । अमेरिकी मोटरसाइकल निर्माता कम्पनी हार्ले डेभिडसनले आफ्ना सबै नयाँ इलेक्ट्रीक मोटरसाइकलहरु ‘लाइभवायर’ नामक ब्राण्डमा ल्याउने भएको हो ।

यसका साथै कम्पनीले लाइभवायर ब्राण्ड अन्तर्गत पहिलो विद्युतीय मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले जुलाई १८ तारिखमा पहिलो मोटरसाइकल सार्वजनिक गर्ने भएको हो ।

हार्ले डेभिडसनले यही वर्ष मे महिनामा लाइभवायर सार्वजनिक गरेको थियो । तर, कम्पनीले ब्रान्ड नेमसमेत परिवर्तन गरेरसँगै पुन सार्वजनिक गर्ने तयारी गरेको हो । अब कम्पनीले निर्माण गर्ने सबै मोटरसाइकल लाइभवायरको व्याचमा आउने जनाइएको छ ।

लाइभवायर हार्लेको पहिलो इलेक्ट्रीक मोटरसाइकलको नाम हो । यही नामबाटै हार्लेले नयाँ ब्राण्डको नाम जुराएको छ । कम्पनीले सार्वजनिक गर्ने तयारी गरेको ‘लाइभवायर वान’ यसअघिको लाइभवायरबाटै प्रेरित मोडल हो ।

यसमा प्रयोग भएको मेकानिकल कम्पोनेन्ट लाइभवायरबाट नै लिइएको छ । लाइभवायर वानले एक पटकको फुलचार्जमा २३५ किलोमिटर रेन्ज प्रदान गर्छ । यसमा १५.५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यो ब्याट्री डिसी चार्जर मार्फत ४५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यो मोटरसाइकलमा ७८ किलोवाटको मोटर जडान गरिएको छ । यसको टप स्पीड १७७ किलोमिटर प्रतिघन्टा रहेको छ । यो मोटरसाइकल ३.१ सेकेन्डमा ०-६० को स्पीड भेन्ट सक्छ ।

कम्पनीले लाइभवायर वानको मूल्य २१ हजार ९९९ अमेरिकी डलर निर्धारण गरेको छ ।


Back_to_top