मारुती सुजुकीका ४ कार जसले लामो जीवन पाए

काठमाडौं । मारुती सुजुकीले उत्पादन गरेका ४ मोडल करिब २१ देखि ३५ वर्षसम्म निरन्तर उत्पादन भइरहे । यसरी एउटै मोडल लामो समयसम्म उत्पादन हुनु भनेको अटो क्षेत्रमा उक्त मोडलले कमाएको प्रसिद्धि मानिन्छ ।

सुजुकी जापान र मारुती इन्डियाका दुई कम्पनी मिलेर उत्पादन गरेका ४ मोडलको लाइफलाई हेर्दा लाग्छ यी मोडल मानिसको दैनिकीसँग यति लामो समयसम्म कसरी गाँसिए होला ।

मारुतीले भारतमा सन् १९८३ मा उत्पादन सुरु गरेको पहिलो मोडल मारुती-८००, सन् १९८४ मा उत्पादन सुरु गरेको ओम्नी भ्यान, सन् १९८५ मा उत्पादन सुरु गरेको जिप्सी र सन् १९९३ मा उत्पादन गरेको जेन मोडल लामो समय बजारमा टिकेका मोडल हुन् ।

ओम्नी भ्यान ३५ वर्षसम्म उत्पादन भएर सन् २०१९ मा उत्पादन बन्द भयो भने जिप्सी ३४ वर्ष उत्पादन भएर सन् २०२० मा उत्पादन बन्द भएको थियो । मारुती-८०० करिब ३१ वर्ष उत्पादनपछि सन् २०१४ मा बन्द भएको थियो । त्यस्तै जेन मोडल २१ वर्ष उत्पादन भएर सन् २०१४ मा नै बन्द भएको हो ।

अहिले यी मोडलको स्थानमा मारुती सुजुकीले अन्य मोडल इको भ्यान, ब्रेजा, अल्टो र सेलेरियो जस्ता मोडल उत्पादन गरिरहेको छ । सन् २०१० पछि अटोमोवाइल बजार निकै प्रतिस्पर्धी हुँदै गएको छ । हरेक २ वर्षमा फेसलिफ्ट र ४ वर्षमा नयाँ जेनेरेशन मोडल बजारमा ल्याउनु पर्ने वाध्यता कम्पनीहरुमा पर्न थालेको छ ।

मारुती सुजुकीका यी चारवटै मोडल नेपालमा पनि विक्री वितरण भएका थिए । अहिले पनि नेपाली सडकमा यी गाडीहरु गुडेको देख्न सकिन्छ ।


Back_to_top