दशैं अगाडि कुन ब्राण्डले कति ल्याउँदै छन् नयाँ कार ?

काठमाडौं । दुई महिनादेखि प्राकृतिक विपतको कारण चीन जोड्ने मुख्य दुई नाका तातोपानी र रसुवाढी बन्द रहे । जसकारण चीनबाट अत्यवाश्यक सामानदेखि सवारी साधन आयात ठप्प भयो ।

गाडी बिक्रेताहरूले साउन र भदौमा दुई भव्य अटो शो आयोजना गरे । जहाँ उनीहरूले हजारौंको संख्यामा विद्युतीय कार बुकिङ लिएका छन् । तर, सडककै कारण नेपाल आउने क्रममा बाटोमै रहेका हजारौं गाडी अझै आइपुग्न सकेका छैनन् ।

यद्यपि, व्यवसायीले तातोपानी र रसुवागढीको विकल्पमा कोरोला नाका हुँदै सवारी आयात गर्न थालेका छन् । तर, भन्सारमा जनशक्ति र पूर्वाधारको कमीका कारण ठूलो संख्यामा गाडी ल्याउन नसकिएको व्यवसायीहरू नै बताउँछन् ।

अझ भदौ २३ र २४ को आन्दोलनपछि अनिश्चियको बादल मडारिँदा दशैंको उत्साह पनि निकै फिका महसुस भइरहेको छ । यसले समग्र अटोमोबाइल क्षेत्रमा समस्या थपेको छ ।

विभिन्न समस्याका बाबजूद सवारी बिक्रेताहरूले दशैंका ग्राहकलाई गाडी डेलिभरी गर्ने प्रयास गरिरहेका छन् ।

कुन ब्राण्डले कति गाडी ल्याउँदै छन् ?

तातोपानी नाका हिजोदेखि खुलेको छ भने रसुवागढी संचालनमा आउन अझै केही दिन लाग्ने देखिन्छ । मुस्ताङको कोराला नाका हुँदै सोमबारसम्म ३४६ युनिट विद्युतीय गाडी जाँचपास भएका छन् ।

अटो शो मार्फत धेरै संख्यामा बुकिङ लिएका बीवाइडी, लीपमोटर, ओमोडा जेको, नामी जस्ता ब्राण्डले कोरोला नाका हुँदै गाडी ल्याएका हुन् ।


लीपमोटरको आधिकारिक बिक्रेता साँग्रिला मोटर्सका डेपुटी जनरल मेनेजर किरण श्रेष्ठका अनुसार कोरोला नाका हुँदै ५० युनिट बी-१० एसयूभी नेपाल आएको छ । कोरोला नाकाबाट आउने बाटो लामो भएको र ठाँउठाँउमा अवरुद्ध हुँदा केही समय बढी लागेको उनले बताए । आजदेखि ग्राहकलाई गाडी डेलिभरी दिने दिने श्रेष्ठले बताए ।

ओमोडा/जेकोको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइलले पनि कोरोला नाकाबाट १६५ युनिट गाडी ल्याएको छ । कम्पनीका जनरल मेनेजर ज्ञानेन्द्र चन्दका अनुसार जेको ब्राण्डका जे फाइभ र जे सिक्स नेपाल आएका हुन् ।

अटोशोमा बुकिङ गरेका ग्राहकहरूलाई दशैं अगाडिनै ओमोडा/जेकोका गाडी दिने बताउँदै चन्दले भने, ‘तातोपानी नाका पनि संचालनमा आउँदै छ । सायद यही साता राम्रै संख्यामा गाडी डेलिभरी दिन सकिन्छ ।’

त्यस्तै, नेपाली बजारमा पछिल्लो समय थाइल्याण्डबाट आयात गरेर बिक्री हुँदै आएको दीपल एस-०५ दशैं अगाडि २०० युनिट ग्राहकमा हस्तान्तरण गरिसक्ने एमएडब्लू वृद्धि अटोकर्पका सीईओ रुपेश भट्ट बताउँछन् ।

भट्टका अनुसार नाडा अटो शोमा बुकिङ गरेका ग्राहकहरूलाई पहिलो चरणमा १०० युनिट हस्तान्तरण चलिरहेको र अर्को १०० युनिट दशैं अगाडि नै दिने तयारीमा कम्पनी रहेको छ ।

धेरै बुकिङ लिएको बीवाइडीका केही युनिट गाडीहरू कोराला नाकाबाट नेपाल प्रवेश गरिसकेका छन् । नाइमा र नाडा दुवै अटो शोमा सहभागी बीवाइडीको एटो-वान , एटो-टु र सिलायन-सेभेन कोराला नाका आइपुगेका हुन् । दशैंको बिदा अगाडि केही संख्यामा बुकिङकर्तालाई गाडी दिने साइमेक्स इंकले जनाएको छ ।

नेपालमै एसेम्बल गरिरहेको हुन्डाईले दशैंमा ग्राहकलाई आवश्यक पर्ने गाडीहरू आफ्नो स्टकमा आइसकेको जनाएको छ । हुन्डाई नेपालका जनरल मेनेजर दीपक थपलियाका अनुसार हुन्डाई क्रेटा र भेन्यू आवश्यक संख्यामा उत्पादन भइरहेको छ । त्यस्तै यहाँ एसेम्बल नहुने पेट्रोल मोडलहरू र क्रेटा इलेक्ट्रीक स्टकमा रहेको थपलियाले बताए ।

भारतबाट आयात हुने टाटा, मारुती सुजुकी, निसान, महिन्द्रा र एमजीका गाडीहरू चाडपर्वको लागि आवश्यक संख्यामा स्टकमा उपलब्ध रहेको कम्पनीहरूको भनाइ छ ।


Back_to_top