नारायणगढ-मुग्लिन सडकमा फेरि सुख्खा पहिरो, वैकल्पिक बाटो प्रयोग गर्न आग्रह

फाइल तस्बिर ।

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको तुइन खोलानजिकै पुनः सुख्खा पहिरो खसेको छ ।

शुक्रबार साँझ ठूलो पहिरो खस्दा अवरुद्ध सडक ४५ घण्टापछि आइतबारदेखि एकतर्फी संचालनमा ल्याइएको थियो । तर, गए राति ठूलो पहिरो खसेपछि पुनः अवरुद्ध भएको हो ।

सडक डिभिजन भरतपुरले सोमबार रातिदेखि नै खसेको सुख्खा पहिरो पन्छाउने काम भइरहेको जानकारी दिएको छ।

‘मुग्लिन-नारायणगढ सडक तुइन खोलानजिक झरेको पहिरो साइटमा तैनाथ उपकरणले सफा गरिरहेको छ । सवारी चालकले सवारी साधन अव्यवस्थित तवरले रोकेर राख्दा साइटमा थप उपकरण र इन्धन लैजान समस्या परेको अवस्था छ, सडक डिभिजन भरतपुरले भनेको छ ।

त्यस्तै, पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका वडानम्बर १० जवाङ खोलामा पहिरो जाँदा मुग्लिन-नागढुंगा सडक खण्ड पनि अवरुद्ध भएको छ ।

मंगलबार बिहान ठूलो पहिरो खसेको र अहिले पनि पहिरो खस्ने क्रम नरोकिएकाले पन्छाउने कार्यमा बाधा पुगेको धादिङ प्रहरीले जानकारी दिएको छ।

प्रहरीले वैकल्पिक सडक प्रयोग गर्न पनि आग्रह गरेको छ।


Back_to_top