एक १३ वर्षीय बालक, जो जहाजको पाँग्रामा लुकेर भारत आइपुगे

काठमाडौं । अफागानिस्तानका एक १३ वर्षीय बालक जहाजको पछाडिको पाँग्राको माथिल्लो भाग (ल्यान्डिङ गियर)मा लुकेर भारत आइपुगेका छन् ।

उनी अफगानिस्तानको काबुलको हामिद करजई एयरपोर्टबाट काम एयरलाइन्सको फ्लाइट आरक्यू–४४०१ मार्फत दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

स्थानीय समय अनुसार आइतबार बिहान ८ बजेर ४६ मिनेटमा अफगानिस्तानबाट उडेको उक्त जहाज बिहान १० बजेर २० मिनेटमा इन्दिरा गान्धी विमानस्थलमा अवतरण भएको थियो ।

इन्दिरा गान्धी विमानस्थलको टर्मिनल ३ को प्रतिबन्धित क्षेत्रमा एक किशोरलाई घुमिरहेको देखेपछि सोधपुछ गर्दा यस्तो रहस्य खुलेको हो ।

उनी पूरै यात्राका क्रममा विमानको पछाडिको पांग्राको माथिल्लो भागमा बसेका थिए । ती बालक ३० हजार फिटको उचाइमा ९४ मिनेटसम्म जीवित रहेको पाइएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । त्यो उचाइमा जहाँ अक्सिजनको धेरै कमी हुन्छ । र, तापक्रम माइनस ६० डिग्री सेल्सियससम्म झर्छ । त्यस्तोमा पनि उनी जीवितै रहेनुलाई विज्ञहरूले चमत्कारभन्दा कम नरहेको बताएका छन् ।

१० हजार फिटभन्दा माथि अक्सिजनको स्तर धेरै कम हुन्छ र मानिस केही मिनेटमै बेहोस हुने चिकित्सकको भनाइ छ । तापक्रम माइनस ५० डिग्री सेल्सियस पुगे शरीरमा गम्भीर हाइपोथर्मिया हुनसक्छ । यस्तो अवस्थामा जीवित रहने सम्भावना केवल २० प्रतिशत मात्र हुने चिकित्सकको भनाइ छ ।

ती बालकले विमानबाट जमिन कस्तो देखिन्छ भन्ने जिज्ञासाका कारण आफू फ्लाइट ल्यान्डिङ गियरमा बसेको बयान दिएको उल्लेख गरेका छन् ।

बालकले आफू काबुल एयरपोर्टमा यात्रुको पछिपछि गाडीमार्फत प्रवेश गरेको र त्यसपछि रनवेमा विमाननजिक पुगेर ह्वील वेलमा लुकेको बताएका छन् । उनी नाबालिग भएकाले कानुनी कारबाही हुँदैन । तर, यो घटनापछि काबुल एयरपोर्टको सुरक्षामाथि गम्भीर प्रश्न गरिएको छ ।

भारतमा यसप्रकारको यो दोस्रो घटना हो । सन् १९९६ मा दिल्लीका दुई युवक ब्रिटिस एयरवेज फ्लाइटको ह्वील वेलमा लुकेर लण्डन पुगेका थिए । उक्त घटनामा एकजनाको मृत्यु भएको थियो भने अर्को युवक बाँच्न सफल भएका थिए ।


Back_to_top