काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीबाट सवा २२ अर्ब रुपैयाँ बढीको बीमा दाबी परेको छ ।
नेपाल बीमा प्राधिकरण अनुसार असोज ५ गतेसम्म १८ निर्जीवन बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड ६५ लाख ६ हजार रुपैयाँ बराबरको बीमा दाबी परेको हो ।
१८ वटा कम्पनीमा २ हजार ४७८ वटा बीमा दाबी परेको प्राधिकरणले जनाएको छ ।आन्दोलनका क्रममा सयौं संख्यामा सार्वजनिक तथा निजी भवन र हजारौं सवारी साधन लगायतमा तोडफोड र आगजनी भएको थियो ।
प्राधिकरणका अनुसार १८ अर्ब ६१ करोड रुपैयाँ बराबरको ५३८ वटा सम्पत्ति बीमा दाबी परेको छ । त्यस्तै, २ अर्ब ९५ करोड रुपैयाँ बराबरको १७७८ वटा मोटर बीमा, ३३ करोड ३६ लाख रुपैयाँ बराबरको १३२ वटा इन्जिनियरिङ तथा ठेकेदार, १ करोड ५५ लाख रुपैयाँ बराबरको ११ वटा परिवहन र ३४ करोड ३८ लाख रुपैयाँ बराबरको १९ वटा अन्य बीमा दाबी परेको छ ।
असोज ५ गतेसम्म सबैभन्दा धेरै बीमा दाबी ओरियन्टल इन्स्योरेन्समा परेको छ । कम्पनीमा ७३ वटा पोलिसीबाट ५ अर्ब २९ करोड ९८ लाख ७६ हजार रुपैयाँ बीमा दाबी परेको हो ।
त्यस्तै, सिद्धार्थ प्रिमियरमा २७९ वटा पोलिसीको ५ अर्ब ८ करोड, आइजीआइ प्रुडेन्सियलमा १७० वटा पोलिसीको २ अर्ब ७६ करोड, शिखरमा २ अर्ब ३९ करोड, सगरमाथा लुम्बिनीमा २५७ पोलिसीको १ अर्ब ५४ करोड, हिमालयन एभरेष्टमा १९६ पोलिसीको १ अर्ब १५ करोड र नेकोमा २११ पोलिसीको १ अर्ब ११ करोड रुपैयाँ बीमा दाबी परेको छ ।
अरु ११ वटा कम्पनीमा भने १ अर्ब रुपैयाँभन्दा बढी दाबी परेको छ । जसमा नेपाल माइक्रो इन्स्यारेन्समा सबैभन्दा कम ४१ लाख ५० हजार रुपैयाँ दाबी परेको छ ।
अझै दाबी पर्ने क्रम जारी रहेकाले दाबी रकम बढ्न सक्ने प्राधिकरण जनाएको छ ।

