यी हुन् नेपालमा उपलब्ध बीएस ६ मापदण्डका कार

काठमाडौं । नेपाल सरकारले ‘नेपाल प्रदुषण मापदण्ड स्टायडर्ड ३’ अनुसारका सवारीसाधन आयात खुल्ला राखेपनि निजी जीप, कार, भ्यानको आयात भारतीय प्रदुषण मापदण्ड बीएस ४ अनुसार भइरहेको छ ।

भारतले सन् २०२० अप्रिल १ बाट बीएस ४ मापदण्डका सवारीसाधन उत्पादन र बिक्री वितरणमा रोक लगाउने भएसँगै विभिन्न सवारीसाधन उत्पादक कम्पनीहरुले नयाँ मापदण्ड अनुसारको इन्जिनमा गाडी बजारमा ल्याइरहेका छन् ।

अहिले नेपाली बजारमा मारुती सुजुकी, किया र फोर्डले बीएस ६ मापदण्ड अनुसारको इन्जिनमा गाडी नेपाल ल्याउन सुरु गरेका छन् ।

मारुती सुजुकीको नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले विभिन्न ११ मोडलको गाडी बीएस ६ इन्जिनमा ल्याइसकेको छ । जसमा सियाज, अल्टो, एक्सएल ६, वागेनआर, सेलेरियो, स्वीफ्ट, एसप्रेसो, इको, एर्टिगा, बलेनो, इग्नीस जस्ता मोडल रहेका छन् । कम्पनीले गत भदौदेखि नै बीएस ६ इन्जिनयुक्त गाडी बिक्री गर्दै आएको हो ।

नेपालको लागि कियाको आधिकारीक वितरक कन्टिनेन्टल्स ट्रेडिङले भारतमा उत्पादन भएको पहिलो कम्प्याक्ट एसयूभी सेल्टोस बीएस ६ इन्जिनमा बिक्री गर्दै आएको छ । कम्पनीले सेल्टोस नेपाल ल्याएको करिब दुई महिना भएको छ ।

त्यसैगरी बीएस ६ इन्जिनयुक्त गाडी ल्याउने अर्को कम्पनी फोर्ड रहेको छ । फोर्डको आधिकारिक वितरक जिओ अटोमोवाइलले आफ्नो सब फोर मिटर एसयूभी इकोस्पोर्ट र प्रिमियम एसयूभी एन्डेभरलाई बीएस ६ इन्जिनमा ल्याएको छ ।

अन्य कम्पनीले ल्याउँदै

भारतमा बन्ने गाडी धमाधम नयाँ इन्जिनमा आएसँगै नेपाल आउने क्रम पनि बढ्दै गएको छ । अन्य कम्पनीमा टाटा, हुन्डाई, महिन्द्रा, निसान, टोयोटा, जीपजस्ता कम्पनीका उत्पादन पनि बीएस ६ मापदण्ड अनुसारको इन्जिनमा तयार भइरहेका छन् ।

यस्तोमा अबको दुई महिना भित्र यी कम्पनीले उत्पादन गरेका बीएस ६ मापदण्डका सवारी साधन नेपाल आउने छन् ।

मूल्य बढ्ने

मारुती सुजुकीले यसअघि नेपालमा बिक्री गरेका मोडलहरु बीएस ६ मा आउँदा ५ देखि १० प्रतिशतसम्म मूल्य बढेर आएको छ । यसले के अनुमान गर्न सकिनछ भने अन्य कम्पनीले ल्याउने नयाँ मापदण्ड युक्त गाडी पनि सोही अनुपातमा मूल्य बढ्न सक्ने छन् ।

के फाईदा ?

नयाँ मापदण्ड अनुसारको सवारीसाधनले गर्ने प्रदुषण निकै कम हुने बताइएको छ । साथै, यस्ता सवारीसाधनले पहिलेको तुलनामा १५ प्रतिशत हाराहारीमा माइलेज बढी दिने उत्पादकहरुले दाबी गरेका छन् ।


Back_to_top