सिंहदरवार र वरिपरीका सरकारी कार्यालयका मात्रै जले १ हजार बढी सवारी, कुनका कति ?

काठमाडौं । भदौ २४ गतेको जेन जी आन्दोलनका क्रममा देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरवार र आसपासका सरकारी कार्यालयहरूका मात्रै १ हजार बढी सवारी साधन जलाइएको छ ।

सम्बन्धित निकायहरू र गोरखापत्र दैनिकले गरेको स्थलगत अध्ययन अनुसार १ हजार ४२ वटा सवारी साधन जलाइएको हो। यो प्रारम्भिक तथ्यांक हो । एकिन तथ्यांक आउन भने बाँकी छ ।

सिंहदरवार भित्रका विभिन्न मन्त्रालय, सर्वोच्च अदालत, सडक विभाग लगायत निकायका ४४१ वटा चारपाँग्रे र ६०१ वटा मोटरसाइकल/ स्कुटर जलाइएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका मात्रै १२१ वटा सवारी साधन जलाइएको छ । जसमा ४७ वटा चारपाँग्रे र ७४ वटा दुईपाँग्रे रहेका छन् ।

त्यसैगरी अर्थमन्त्रालय ९० वटा (चारपाँग्रे ३६ र दुईपाँग्रे ५४), गृह मन्त्रालयका ५५ वटा (चारपाँग्रे २५ र दुईपाँग्रे ३०४), कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका ४८ वटा (चारपाँग्रे ९ र दुईपाँग्रे ३९), संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका ७१ वटा (चारपाँग्रे ३५ र दुईपाँग्रे ३६), शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका ७३ वटा (चारपाँग्रे २६ र दुईपाँग्रे ४७) सवारी जलेका छन् ।

त्यसैगरी, युवा तथा खेलकुद मन्त्रालयका ४१ वटा (चारपाँग्रे १९ र दुईपाँग्रे २३), संघीय संसदका ५४ वटा (चारपाँग्रे १८ र दुईपाँग्रे ३६), वन तथा वातावरण मन्त्रालयका २७ वटा (चारपाँग्रे १७ र दुईपाँग्रे १०), काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका ४७ वटा (चारपाँग्रे १८ र दुईपाँग्रे २९), स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका ३६ वटा (चारपाँग्रे २२ र दुईपाँग्रे १४), सर्वोच्च अदालतका ५१ वटा चारपाँग्रे (दुईपाँग्रे गन्न नसकिने अवस्थामा), सहरी विकास तथा भवन निर्माण विभागका ५० वटा चारपाँग्रे र २०० बढी दुईपाँग्रे सवारी साधनमा आगजनी भएको छ ।

त्यस्तै, राष्ट्रि प्राकृतिक स्रोत तथा वित्त आयोगका ९ वटा दुईपाँग्रे, सडक विभागका ६५ वटा चारपाँग्रे (दुईपाँग्रे गन्न नसकिने अवस्था) र महान्यायाधिवक्ताको कार्यालका ३ वटा कार/बस जलेका छन् ।

आगजनी भएका अधिकांश सवारी ध्वस्त भएका छन् । पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था छैन ।


Back_to_top