रसुवागढीमा दशैंअघि नै बेलिब्रिज निर्माण हुने

काठमाडौं । रसुवागढीमा नेपाल-चीन जोड्ने बेलिब्रिज दशैं अघि नै निर्माण सम्पन्न हुने भएको छ ।

गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले दुई देश जोड्ने मितेरी पुल बगाएको थियो । अहिले उक्त स्थानमा चीनले धमाधम बेलिब्रिज निर्माण गरिरहेको हो ।

चिनियाँ मजदुरले चीनतर्फको काम सकी अहिले नेपालतर्फ पिलरको काम सुरू गरेको रसुवागढीस्थित सीमा सुरक्षाकर्मीले जानकारी दिएको छ ।

आफ्नो तर्फको भागमा पुल निर्माण सम्बन्धी काम पूरा गरिसकेको चिनियाँ पक्षले नेपालतर्फको भागमा समेत पिलर राख्ने भुइँ सहतको ढलान गर्ने काम आज सम्पन्न गरेको हो । अब पिलर ठड्याएर पुल राख्ने काम मात्र बाँकी छ ।

चिनियाँ पक्षले केही दिनअघि मात्र ल्हेन्दे खोलामा ह्युमपाइप राखेर आवतजावतमा सहज बनाई जग खन्ने उपकरण नेपालतर्फ ल्याएको थियो । वर्षाका कारण ल्हेन्दे खोलामा पानीको बहाव बढिरहँदा नेपालतर्फ निर्माण उपकरण र सामग्री ल्याउन समस्या भएको थियो ।

रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले वर्षाका कारण पुल निर्माण प्रभावित भइरहेको बताए । उनले चिनियाँ पक्षको काम गराइको रफ्तारलाई हेर्दा दशैंअघि नै पुल निर्माण भई चीनतर्फको आवतजावत सहज हुने अपेक्षा गरिएको बताए ।

चीनले गत साउन दोस्रो सातादेखि बेलिब्रिज निर्माण सुरु गरेको थियो ।


Back_to_top