अर्थमन्त्रीले गरे क्षतिग्रस्त गाडी शोरुमहरूको अवलोकन

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जेनी जी आन्दोलनका क्रममा आगजनीबाट ध्वस्त भएका गाडी शोरुमहरूको स्थलगत अवलोकन गरेका छन् ।

अर्थमन्त्री खनाल मंगलबार अर्थसचिव घनश्याम उपाध्यायलाई साथमा लिएर गाडी शोरुमहरूको अवलोकन गर्न थापाथली पुगेका हुन् ।

सोमबार मात्रै पदभार ग्रहण गरेका अर्थमन्त्री व्यवसायीको पीडामा साथ दिन फिल्डमा पुगेका हुन् ।

उनले थापाथली क्षेत्रका शोरुमहरूमा पुगी आगजनी र तोडफोडबाट भएको क्षतिको जानकारी लिएका थिए । साथै, सरकारले आवश्यक सहयोग गर्ने आश्वसन समेत दिएका छन् ।

अर्थमन्त्रीले निजी क्षेत्रका समस्याहरुसँग आफू परिचित रहेको बताए । उनले सार्वजनिक तथा निजी क्षेत्रमा पुगेको क्षतिको पुननिर्माणका लागि कोष खडा गर्ने निर्णय भइसकेको जानकारी गराउँदै व्यवसायीलाई समस्याबाट बाहिर निकाल्न इन्ट्रीग्रेटेड बिजनेस रिकोभरी प्लान ल्याइने बताए ।

भदौ २४ गते भएको आन्दोलनका क्रममा थापाथली क्षेत्रमा रहेका दर्जन बढी शोरुममा आगजनी र तोडफोड भएको थियो । जसबाट व्यवसायीले करोडौं क्षति व्यहोर्नुपरेको छ ।

मारुती सुजुकी, महिन्द्रा, टाटा, एक्सपेङ, एवोन ब्राण्डको शोरुम पूर्ण रुपमा जलेको छ । यी शोरुम भित्र रहेका गाडी समेत जलेर खरानी भएका छन् । त्यस्तै, हुन्डाई, सिट्रोन लगायतका शोरुममा तोडफोड भएको छ ।

अर्थमन्त्री खनालले आगजनीबाट ध्वस्त भएको भाटभटेनीको कोटेश्वर शाखाको पनि अवलोकन गरेका छन् ।


Back_to_top