यस वर्ष दशैंका लागि बसको अग्रिम टिकट बुकिङ नखुलाइने

काठमाडौं । यस वर्ष दशैं, तिहार लगायत चाडपर्वका लागि बसको अग्रिम टिकट बुकिङ नखुलाइने भएको छ ।

मंगलबार मीनभवनस्थित यातायात व्यवस्था विभागको कार्यालयमा बसेको सरोकारवालाहरूको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले जेन जीको आन्दोलनपछि दशैं सुरु नहुँदै यात्रुहरू घर जान थालिसकेकाले दशैंका लागि भनेर अग्रिम टिकट बुकिङ खुलाउन आवश्यक नरहेको निष्कर्ष निकालेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले जेन जीको आन्दोलनपछि विश्वविद्यालय, कलेजहरू बिदा गरिँदा धेरै यात्रुहरू घर जान थालिसकेकाले दशैंलक्षित अग्रिम टिकट बुकिङको व्यवस्था नगर्ने निर्णय भएको जानकारी दिए ।

उनले दशैंका निम्ति काठमाडौंबाट घर जानेलाई ३/४ दिनअगाडि नै बसको टिकट लिने व्यवस्था मिलाइएको उनले बताए ।

‘यो वर्ष दशैं लागि भनेर टिकटको अग्रिम बुकिङ खोल्नुपर्ने अवस्था देखिएन । धेरै जसो विश्वविद्यालय, कलेज बिदा भएकाले विद्यार्थीहरू दैनिक बाहिरिरहेका छन्, त्यसैले विशेष बुकिङको व्यवस्था नगरिएको हो,’ उनले भने ।

यदि दशैंको बेलामा यात्रु धेरै भएमा उपत्यकामा चल्ने बसहरू पनि बाहिर पठाएर सहज बनाइने उनको भनाइ छ ।

बैठकमा विभागका पदाधिकारी, यातायात व्यवसायी, ट्राफिक प्रहरी लगायतको उपस्थिति थियो ।


Back_to_top