काठमाडौं । भदौ २४ गतेको जेन जीको आन्दोलनका क्रममा भएको आगजनीबाट ६ लाख बढी इम्बोस्ड नम्बर प्लेट जलेर नष्ट भएको छ ।
काठमाडौंको मीनभवनस्थि यातायात व्यवस्था विभागको पछाडि रहेको इम्बोस्ड नम्बर प्लेट छाप्ने प्लाण्टमा आगलागी हुँदा ६ लाख बढी प्लेट जलेर खरानी भएको हो ।
यातायात व्यवस्था विभागका अनुसार डेकाटुर कम्पनीले छापेर प्रदेश मातहतका यातायात कार्यालयहरूमा पठाउन तयारी अवस्थमा राखिएका सबै इम्बोस्ड नम्बर प्लेट जलेका हुन् ।
विभाग स्रोतका अनुसार क्षतिको एकीन विवरण आइनसके पनि ६ लाख बढी नम्बर प्लेट जलेको अनुमान छ । स्रोतका अनुसार साउन मसान्तसम्म ८ लाख १९ हजार इम्बोस्ड नम्बर छापिएको थियो । तीमध्ये करिब २ लाख हाराहारी प्रदेश कार्यालयहरूमा पठाइसकिएको थियो । बाँकी ६ लाख बढी नम्बर प्लेट पठाउने तयारी भइरहँदा आगलागी भएपछि सबै जलेर नष्ट भएको हो ।

‘साउन मसान्तसम्म ८ लाख १९ हजार नम्बर प्लेट छापिएको थियो । तीमध्ये करिब २ लाख प्रदेश मातहतका कार्यालयहरूमा पठाइएको थियो । असोज १ गतेदेखि अनिवार्य गरिएसँग बाँकी ६ लाख बढी प्लेट पनि पठाउने तयारी भइरहेको थियो । तर, आगजनीबाट सबै नष्ट भयो । कुनै पनि पनि काम लाग्ने अवस्था छैन,’ विभाग स्रोतले भन्यो ।

अहिले क्षतिको विवरण संकलन भइरहेको विभागले जनाएको छ ।


