काठमाडौं । बीवाइडी एटो-थ्री २०२४ मोडल बजारमा उपलब्ध हुने भएको छ । बीवाइडीकाे आधिकारीक बिक्रेता साइमेक्स इंकले भोलि (शुक्रबार) बाट नयाँ एटो-थ्रीको बिक्री सुरु गर्न लागेको हो ।
सन् २०२२ को फेब्रुअरीमा पहिलो पटक चीनमा सार्वजनिक भएको इलेक्ट्रीक एसयूभी एटो-थ्री नेपालमा निकै सफल मोडल हो । बीवाइडीको तेस्रो जेनेरेशन ‘अल इलेक्ट्रीक ई प्लेटफर्म’मा बनेको हो ।
चीनमा एटो-थ्री अनर एडिशन नाममा आएको नयाँ भर्सन ब्ल्याक कलरमा सजिएको एक्सटेरियर र इन्टेरियर पाउन सकिन्छ । अघिल्लो भर्सनमा रहेका क्रोम एलिमेन्टसहरु सबै कालो बनाइएको छ ।
यसमा अपग्रेटेड कन्टीन्यूवस भ्वाईस कलिङ सपोर्ट ककपिट प्रयोग गरिएको छ । यसअघिको १२.८ इन्चको रोटरी स्कृनको सट्टा नयाँ इन्फोटेन्मेन्ट सिस्टम दिइएको छ । डिलीङ्क ४.० इन्टेलीटेन्ट सिस्टम सहितको १५.६ इन्चको फ्लोटिङ टच स्कृन नयाँ एटो-थ्रीमा पाउन सकिन्छ ।
नयाँ एडिशनमा कम्पनीले हिटपम्प सिस्टम पनि अपग्रेड गरेको जनाएको छ । यसलाई पनि कम्पनीले ६० र ४९.९२ किलोवाटको ब्याट्री प्याकमा नै ल्याउन लागेको हो ।
साइमेक्स इंकले यसअघि घोषणा गरेको मूल्यमा नै नयाँ भर्सन उपलब्ध गराउने जनाएको छ । चालु आर्थिक वर्षको बजेटले गरेको कर वृद्धि अनुसार भएको समोजित मूल्यमा नै नयाँ एटो-थ्री किन्न पाइने छ ।
बीवाइडी एटो-थ्री एड्भान्स मोडलको मूल्य ५६ लाख ९० हजार रुपैयाँ र सुपेरियर मोडलको मूल्य ६७ लाख ८० हजार रुपैयाँ कायम भएको थियो ।