सस्तो र सहज कर्जासँगै कारको मूल्यले अटो शोमा ग्राहक तानिने

काठमाडौं । गाडी किन्ने मानिसलाई चाहिने मुख्य कुरा सहज कर्जा, कम ब्याजदर र आफ्नो बजेट अनुसारको गाडी हो । यी सबै कुराको लागि आगामी मंगलबारबाट सुरु हुने नाडा अटो शो आकर्षक गन्तब्य हुने पक्का छ ।

विगत ९ महिनादेखि निरन्तर घट्दै गएको ब्याजदरको फाइदा अहिले गाडी किन्ने ग्राहकले पाउन थालेका छन् । अहिले ९ प्रतिशत मै ५ वर्षसम्म परिवर्तन नहुने ब्याजदरमा गाडी कर्जा पाउन सकिन्छ । धेरै बैंकहरुले आफ्नो वेसरेटमा १ प्रतिशत प्रिमियम थपेर कर्जा सुविधा दिइरहेका छन् ।

अर्को महत्वपूर्ण कुरा समयमा कर्जा सुविधा पाइन्छ कि पाइदैन भन्ने हुन्छ । बैंकहरुसँग लगानी योग्य रकम थुप्रिएको कारण बैंकहरुले ढिलोमा ७ दिन भित्रै कर्जा स्विकृति गर्ने घोषणा गरिरहेका छन् । कति बैंकले ४८ घन्टा भित्रै कर्जा स्विकृति हुने जनाएका छन् । बैंकबाट गाडी किन्नेले आफ्नो मासिक आम्दानीको स्रोत खुल्ने र कर कट्टी भएको जनाउ दिने डकुमेन्ट पेश गर्दा कर्जा प्रक्रिया निकै सहज हुन्छ ।

अटो शोमा ग्राहकलाई आकर्षण गर्ने अर्को मुख्य विषय कारहरुको मूल्य हो । एक वर्ष अगाडिसम्म कुनै एक÷दुई मोडलको एकाधिकार रहेको बजारमा अहिले थुप्रै प्रतिस्पर्धी थपिएका छन् । नयाँ प्रतिस्पर्धीको प्रबेशसँगै बजारमा प्राइस वार सुरु भएको छ । त्यसैले अटो शोमा ग्राहकले निकै आकर्षक मूल्य पाउने पक्का छ ।

यस पटकको नाडा अटो शोमार्फत करिब ९ नयाँ ब्राण्डले बजार प्रबेश गर्दैछन् । यसरी आउन लागेका हरेक ब्राण्डले आकर्षक मूल्यसहित नयाँ मोडल ल्याउने छन् ।


Back_to_top