काठमाडौं । नेपालमा आज विहिबार आधिकारीक बिक्री सुरु हुन लागेको डोङफेङको नयाँ ईभी नामी युरोपियन बजारमा पुगेको छ । कम्पनीले स्विजरल्याण्डमा ‘नामी बक्स’को बुकिङ खोलेको हो ।
कम्पनीले युरोपियन बजारमा नामी बक्सको सुरुवाती मूल्य २२ हजार २ सय डलर राख्ने भएको छ । डोङफेङले इटालीमा म्यानुफ्याक्चर प्लान्ट बनाउने योजना तय भएको रोयटर्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।
चिनियाँ बजारमा नामी बक्सको मूल्य १० हजार डलर हाराहारी छ । इयूले चिनियाँ ईभी उत्पादकलाई लगाएको नयाँ ट्याक्सको कारण नामी बक्सको मूल्य युरोपमा महँगो हुन पुगेको हो । चिनियाँ अटोमोवाइल कम्पनी डोङफेङले सन् २०२३ मा २० लाख कार बिक्री गरेको थियो ।
नामी बक्स एक सव कम्प्याक ईभी हो । यसमा धेरै सेग्मेन्ट फस्ट प्रिमियम फिचरहरु छन् । यसको एक्टेरियरमा फ्रमलेस डोर, फ्लस डोर ह्याण्डल, फ्लोटिङ कन्ट्रास रुफ जस्ता फिचर छन् ।
यसको इन्टेरियरमा डाइमण्ड क्लील्टेड ड्यासबोर्ड, ३६० डिग्री क्यामरा, १२ इन्चको सेन्टर टचस्कृन डिस्प्ले, ५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, अटोमेटिक पार्किङ, एड्भान्स एडास सिस्टम, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, ३२ कलरको एम्बीयन्ट लाइट, वायरलेस फोन चार्जर, इलेक्ट्रीक एड्जस्टेबल फ्रन्ट सिट पाउन सकिन्छ ।
नेपाली बजारमा ३१.५ र ४२.३ किलोवाट आवरको दुई ब्याट्री साइजको एलएफपी अप्सनमा आउने नामीको मूल्य ३३ देखि ३६ लाख रुपैयाँ तोकिएको छ । नाडाको लागि अझै विशेष मूल्यमा गाडी आउने अनुमान गरिएको छ । नामी बक्सको ठूलोे व्याट्री अप्सनले ३१० किलोमिटरको रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।
नामी–०१ मा ७० किलोवाट क्षमताको मोटर छ । जसले ९४ हर्सपावर तथा १६० न्यूटन मिटरको टर्क जेनेरेट गर्छ । नामीको टपस्पीड १४० किलोमिटर प्रतिघण्टासम्म छ ।