काठमाडौं । बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले आगामी साउन २० गतेबाट नयाँ प्रिमियम एसयूभी एटो थ्रीको विक्री सुरु गर्ने भएको छ । कम्पनीले लामो समयपछि यसलाई नेपालमा विक्री सुरु गर्न लागेको हो ।
यसअघि बीवाइडीले अष्ट्रेलिया र सिंगापुरमा एटो थ्रीको विक्री सुरु गरेको थियो । नेपालमा पनि बजेट अगाडि बुकिङ खोल्ने योजना बनाएको कम्पनीले अन्तिम समयमा जेठ १५ गतेपछि बुकिङ लिने तयारी गरेको थियो । तर, बजेटले १०० किलोवाट माथिको मोटर प्रयोग भएको गाडीमा ३० प्रतिशत भन्सार र ३० प्रतिशत अन्तःशुल्क लगाउने निर्णय गरेपछि कम्पनीले बुकिङ लिएको थिएन ।
अब भने साउन २० गतेबाट यसको आधिकारीक विक्री सुरु हुने भएको कम्पनीले जनाएको छ । यसमा १५० किलोवाट क्षमताको मोटर र ६०.४ किलोवाट आवर क्षमताको बीवाइडीको ब्लेड ब्याट्री दिइएको छ ।
अहिलेसम्म नेपालमा उपलब्ध बीवाइडीको कार मध्ये सबैभन्दा पावरफुल मोटर रहेको एटो-३ ले एक पटकको फुल चार्जमा ४०० किलोमिटर रेन्ज प्रदान गर्ने डब्लूएलटीपीले प्रमाणित गरेको छ । यसको एक्सीलेरेसन पनि उत्कृष्ट रहेको छ । गाडीले सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड केवल ७.३ सेकेन्डमा भेट्टाउने छ ।

बीवाइडीको डेडिकेटेट इभी प्लेटफर्ममा तयार भएको एटो-३ कम्पनीको नयाँ ड्रागनफेस ३.० डिजाइन ल्याङ्वेज तयार भएको हो । निकै प्रिमियम र फराकिलो क्याविन यसको सबैभन्दा सबल पक्ष हो । १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ५ इन्चको ड्राइभर इन्फरमेशन डिस्प्ले, ७ वटा एयरव्याग, अष्ट्रेलियन एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ यो कारको बलियो पक्ष हो ।
कम्पनीले यसको एक्सटेरियरलाई पनि निकै आकर्षक बनाएको छ । कम्पनीले यसको मूल्यको विषयमा आधिकारीक जानकारी नदिएपनि ८५ लाखदेखि ९० लाख भित्रै रहनेगरी मूल्य निर्धारण गर्ने अनुमान गर्न सकिन्छ ।

