मोटरसाइकल र स्कुटरको विक्री घट्यो

काठमाडौं । मोटरसाइकल तथा स्कुटरको विक्रीमा ठूलो गिरावट देखिएको छ । आर्थिक वर्ष २०७७÷७८ को तुलनामा २०७८÷७९ मा करिब २० प्रतिशतले आयातमा नै गिरावट आउने देखिएको हो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्मको आयात तथ्यांक हेर्दा सबै किसिमका दुई पाङ्ग्रे सवारीसाधन २ लाख ५७ हजार ६३५ यूनिट मात्र आयात भएको छ । अघिल्लो आबको ११ महिनामा नै ३ लाख २३ हजार १४६ यूनिट आयात भएको थियो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ६५ हजार ५११ यूनिट मोटरसाइकल तथा स्कुटर कम आयात भएको हो । सरकारले महंगा मोटरसाइकलको आयात कडाई गरेसँगै आगामी आर्थिक वर्षमा ठूला मोटरसाइकलको आयात अझै घट्ने देखिन्छ ।

विक्रीमा थप समस्या

बजारमा देखिएको तरलता अभावको असर मोटरसाइकलको विक्रीमा पनि परेको छ । व्यवसायीहरुको अनुसार रिटेल विक्री करिब ३० प्रतिशतले घटेको छ ।

‘अघिल्लो वर्षको वर्षको तुलनामा आयात र रिटेल विक्री २० प्रतिशतले नै घटेको हुनुपर्छ । अबको केही दिनमा एकिन तथ्यांक आउँछ । तर, आर्थिक गतिविधि ठप्प भएसँगै त्यसको असर खुद्रा विक्रीमा पर्नु स्वभाविक हो’, नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका कोषाध्यक्ष मिलनबाबु मल्लले मेरोअटोसँग भने ।

मल्लका अनुसार चालु आर्थिक वर्षमा २ लाख ६० हजार हाराहारी मात्रै मोटरसाइकल विक्री हुने र डिलरहरुसँग राम्रै संख्यामा स्टक रहने देखिएको छ ।

कुनै कुनै ब्राण्डको त आयात भएको मोटरसाइकल तथा स्कुटर ४० प्रतिशतसम्म पनि स्टकमा रहेको बताइन्छ ।


Back_to_top