नीतिगत भ्रष्टाचार गरेर पुग्ने वर्गले सार्वजनिक यातायात कहिल्यै सुधार्दैनन्

काठमाडौं । सहरी मानिसको चाहना एउटा आफ्नै सवारीसाधन राख्ने हुन्छ । त्यो स्वभाविक पनि हो । सार्वजनिक यातायातको उचित व्यवस्था नभएको देशका नागरिकको पहिलो चाहना नै आफ्नो निजी साधन हुन्छ । त्यसमा पनि हाम्रो जस्तो अस्थव्यस्त सिस्टम भएको देशको के कुरा ।

यहाँ मन्त्री बन्नेहरू किन मन्त्री बनेका हुन् भन्ने विषय बुझ्दैनन् । मन्त्री बनेपछि कति ‘माल’ (घुस) आउँछ भन्ने मात्रै ध्यान दिन्छन् । अहिले नेपालका राजनीतिककर्मीहरू पूर्णतः व्यापारीको भूमिका मात्रै फिट हुने खालका छन् । कहाँबाट कति कमिशन मिल्छ वा कुन काम गर्दा पैसा आउँछ त्यो मात्रै गर्छन् ।

विगत ५ वर्षमा यातायात मन्त्रीको भूमिकामा कति जना आए सबैको नाम सम्झनामा छैन । मन्त्रीको नाम सम्झनु पर्ने काम गरेको भए थाहा नहुने अवस्था आउँदैन्थ्यो । सरकारले सबैभन्दा धेरै बजेट दिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई नै हो । तर, त्यहाँ जाने मन्त्रीले यहाँको सार्वजनिक यातायात कस्तो हुने भन्ने विषयमा ज्ञान राख्नु पर्दैन । सार्वजनिक यातायातको अनुगम गर्नु र गराउनु पर्दैन ।

हिजोका सिन्डिकेटधारीहरूको चंगुलबाट सार्वजनिक यातायात सुधार गर्ने दायित्व मन्त्री र मन्त्रालयको होइन र ? नेपालमा सर्वाधिक लुट मच्चिएको यातायात क्षेत्र नै हो । यो क्षेत्र सर्वाधिक वित्तीय कारोबार हुने क्षेत्र भएको कारण यसले दिने सेवाको विषयमा ध्यान दिनु पर्ने कि नपर्ने ? यी र यस्ता विषयको उत्तर खोज्न नागरिक कहाँ जाने ?

केही दिन अघि मात्रै मोहम्मद इस्तियाक राई भौतिक पूर्वाधार तथा यातायातमन्त्री छन् । यो मन्त्रालय उनको लागि नौलो विषय होइन । यसअघि पनि उनी यो मन्त्रालय चलाइसकेका मन्त्री हुन् । उनीसँग यातायात क्षेत्रको व्यवस्थापन गर्ने क्षमता भएको भए उनले यसअघि नै काम गर्थे । तर, शिर्षनेतृत्वको आँखा लागेको देशमा यस्तै असक्षमहरू मन्त्री भइरहन्छन् । आमनागरिकले दुःख पाइरहन्छन् ।

मेरो आफ्नै कथा

म विगत २२ वर्षदेखि काठमाडौंमा बसोबास गर्दै आएको छु । मैले २०५८ सालदेखि २०७२ सालको भूकम्प जानु अघिसम्म सधैं सार्वजनिक यातायातको प्रयोग गरेँ ।

म काठमाडौंको मैतीदेवीमा डेरा गरेर बस्थेँ । अफिस बागबजारमा थियो । मैतीदेवीबाट बागबजारको लागि १० वर्षमा मैले कहिल्यै सार्वजनिक यातायातको प्रयोग गर्नु परेन । अफिसबाट कामको शिलसिलामा बालाजु, कलंकी, कोटेश्वर, लगनखेल लगायत स्थानमा जाँदा भने सार्वजनिक यातायातको प्रयोग गर्थेँ। मलाई हिँड्न सधैं रमाइलो लाग्थ्यो । अहिले पनि हिँड्न मनपराउने मै पर्छु ।

२०७२ सालमा म काठमाडौंको उत्तर पूर्वी क्षेत्र साँखुमा बस्न पुगेँ । साँखु खुल्ला स्थान, स्वच्छ हावा पानी भएकै कारण मैले त्यहाँ बस्ने निधो गरेँ । साँखुबाट मेरो बागबजारमा रहेको अफिसको दूरी १६ किलोमिटर थियो । विश्वका धेरै सहरमा ५० देखि १५० किलोमिटरसम्मको दूरी एक घन्टामा यात्रा गरेर अफिस गएको कुरा सुनेको थिएँ । ब्लगहरू हेरेको थिएँ । तर, मेरो छनोटको बासस्थानबाट बागबजारको १६ किलोमिटर यात्रा गर्न सार्वजनिक यातायातलाई १ घन्टा ४० मिनेट लाग्थ्यो । बिहान ८ बजे घरबाट हिँड्यो भने १० बजे अफिस पुग्न मुस्किल ।

अफिसको काम सकेर घर जान पनि हतार गर्नु पर्ने अवस्था भयो । बेलुका ६ बजेपछि साँखुको बस नपाइने । विवाहको लगन भएको दिन सबै गाडी रिजर्भमा जाने । प्यासेन्जरले महंगो भाडा तिरेर ट्याक्सी लिनु पर्ने । एक दिन मैले ट्याक्सीमा १६०० रुपैयाँ तिरेर गएँ । त्यसपछि मेरो दिमाग मोडियो र मैले स्कुटर किनेँ ।

२०७२ सालको वैशाख अन्तिम तिरबाट मेरो यात्रा स्कुटरमा सुरू भयो । त्यो दिनपछि मलाई घरजान गाडी नपाइएला कि भन्ने चिन्ता हट्यो । बिहान पनि कति बजे अफिस पुगिएला भन्ने चिन्ता भएन । बिहान ८ बजे घरबाट हिँड्ने म ९ बजे हिँडेर ९ः४५ मा अफिस पुग्न थाले । बेलुका ५ बजे गाडीमा गएर बस्ने र ७ः३० मा घर पुग्ने म ७ बजे हिडेर ७ः३० मा पुग्न थालेँ ।

यसले मेरो आवत जावतलाई सजिलो मात्रै बनाएन, मलाई थप काम गर्ने समय दियो । परिवारसँग थप बस्न पाउने बनायो । मैले एक दिन पनि दुःख नपाइ त्यो स्कुटरमा यात्रा गरेँ । अहिले पनि कुनै मानिस मोटरसाइकल वा स्कुटर किन्छु भनेर गएको शोरुममा भेटे भने उसमा म आफूलाई पाउँछु । तर, सरकार विलासी वस्तु प्रयोग नगर । त्यसको लागि तिमिहरू उपयुक्त छैनौं भने जस्तो गर्छ ।

अब कुरा गरौं सार्वजनिक यातायातको

सार्वजनिक यातायातको दुराअवस्था मैले भोगेको भोगाइमै प्रस्ट छ । १६ किलोमिटर यात्रा गर्न छिटोमा १ घन्टा ४० मिनेट । जथाभावी रोक्ने, मान्छे ओराल्ने र प्यासेन्जर माथि हुने दुव्र्यवहारको विषयमा केही भन्नु पर्ला जस्तो लाग्दैन । यदि किन यति धेरै रोकेको वा ढिलो चलाएको भन्यो भने चाँडो जान ट्याक्सी चढ् भन्ने सहचालकको हप्की, भित्र छिर्दै रिङगटा लाग्ने खालको सिट, त्यसमाथिको फोहोर मैलो सिट, जहाँ त्यहीँ चुइगम टाँसिएको र फोहोर लतपत साधनलाई सार्वजनिक यातायात भनिन्छ भन्ने युक्ति नै निर्माण भएको छ ।

सिट क्षमताभन्दा दोब्बर प्यासेन्जर, ठेलमठेल मानिसको भीड, चीनमा भेडा बोक्ने डब्बालाई काटेर बनाइएको माइक्रो, १२ सिटेदेखि २५ सिट क्षमताका साना र फुच्चे सवारीसाधन । सफा ट्याम्पोको नाममा संचालनमा रहेका १० जना बोक्ने फलामको डब्बाले देशको यातायातको कुरूप प्रदर्शन गरिरहेको छ । यी साधनले सार्वजनिक यातायातको हुर्मत लिएको मात्रै छैन, सडक नै अस्तव्यस्त बनाएको छ । त्यसमा थपिएका अनेक थरी राइड एण्ड सेयरिङ कम्पनीमा आबद्ध मोटरसाइकल ।

यसलाई सुधार गर्न नीति बनाउने मन्त्री, सांसद र सचिवहरूले यसमा यात्रा गरेर हेर्नु पर्छ । तर, यहाँ कसलाई फुर्सद । सरकारी पैसाले किनेको महंगा र लग्जरी साधन कब्जामा लिएकै छन् । अगाडि र पछाडि स्कर्टिङ टीम लगाएर साइरन बजाउँदै हिँड्दा पुगेकै छ । त्यसैले नागरिकले चढ्ने सार्वजनिक यातायातमा केको चिन्ता ? त्यसैले नीतिगत भ्रष्टाचार गरेर पुग्ने वर्गले यातायात सुधार गर्दै गर्दैनन् ।


Back_to_top