काठमाडौं । नेपालमा सर्वाधिक सफल मध्येको एक एसयूभी बीवाइडी एटो थ्रीको नयाँ जेनेरेशन मोडल ‘राइट ह्याण्ड ड्राइभ’मा तयार भएको छ । कम्पनीले राइट ह्याण्ड ड्राइभ मोडललाई मलेशियामा सार्वजनिक गरेको हो ।
मलेसियामा आजबाट सुरु भएको क्वालालम्पुर इन्टरनेशनल मोटर शोमा बीवाइडीले राइट ह्याण्ड ड्राइभ एटो थ्री प्रदर्शनी गरेको हो । बीवाइडीको ग्लोबल मोडलको रुपमा रहेको एटो थ्री पुरै परिवर्तन भएर आएको छ ।

बीवाइडीले नयाँ एटो थ्रीको इन्टेरियरलाई आफ्ना नयाँ डाइनास्टी सिरिजका मोडल जस्तै डिजाइनमा तयार पारेको छ । नयाँ एटो थ्रीको क्याबिन थप व्यवस्थित, सफा र सरल देखिन्छ । यसको सेन्टर कन्सोल र ड्यासबोर्डमा बीवाइडीका नयाँ गाडीमा जस्तो होरिजन्टल लेयरिङ प्रयोग गरिएको छ ।
नयाँ एटो थ्रीमा ५७.५४ किलोवाट आवर वा ६८.५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । जसले एकपटकको फूल चार्जमा क्रमशः ५४० किमी र ६३० किमी सीएलटीसी रेन्ज दिनेछ । नयाँ एटो थ्री २०० किलोवाट र २४० किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध हुनेछ ।

नयाँ एटो थ्रीमा रियर ह्वील ड्राइभ सिस्टममा आउने छ । यसमा दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ सपोर्ट गर्ने बनाइएको छ ।
यसको बाहिरी डिजाइन निकै स्मार्ट लाग्छ । क्लोजअफ ग्रिलमा प्रयोग भएको क्रोम लाइन, एलईडी हेडल्याम्प, पछाडि दुई खण्डमा बाँडिएको ब्रेक लाइट र वाइपर दिइएको छ । ब्रेक लाइट स्पोइलरमा राखिएको छ ।

नयाँ एटो थ्रीको लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६७५ एमएम छ । यसमा २७७० एमएमको ह्वीलबेस रहेको छ । यो हालको एटो थ्रीभन्दा निकै ठूलो हो ।

यसमा १८ वा १९ इन्चका ह्वील, सेमी हिडन डोर ह्याण्डलहरू र ग्राहकको चाहना अनुसार रङ छान्न मिल्ने डी पिलर प्यानलहरू रहेका छन् ।



