काठमाडौं । चिनियाँ अटोमोबाइल कम्पनी चेरी ग्रुप अन्तर्गतको ओमोडा इ फाइभ सन् २०२४ मा नेपाल प्रबेश गरेको हो । नेपाल आएको छोटो समयमा नै ओमोडा इ फाइभले अलग पहिचान बनाउन सफल भएको थियो ।
सन् २०२४ मा नेपाली बजारमा प्रबेश गरेको इ फाइभ पहिलो वर्ष ५८४ युनिट आयात भएको थियो । दोस्रो वर्ष सन् २०२५ मा ३८५ युनिट आयात भएको इ फाइभ २०२६ लाग्ने वित्तिकै नयाँ मोडल ल्याउने तयारीमा जुटेको थियो ।
ओमोडाको इ फाइभ प्रो नामबाट केही दिन अगाडि सार्वजनिक भएको इ फाइभलाई मैले काठमाडौंबाट पोखरासम्मको २०३ किलोमिटर चलाएर हेरेको थिए । मूल्यमा ठूलो कटौती भएपनि कम्पनीले फिचरमा कुनै सम्झौता गरेको छैन ।
डिजाइनको आधारमा अगाडिको फ्रन्ट र पछाडिको रियर पार्टमा राम्रै परिवर्तन गरेको छ । लम्बाइ र ग्राउन्ड क्लियरेन्स पनि बढेको छ । सिटको क्वालिटी परिवर्तन भएको छ । अगाडिको स्क्रीनदेखि ड्यासबोर्ड नै अलग लाग्छ । यति धेरै परिवर्तन भएको कारमा ब्याट्री भने ४९ किलोवाट आवरमा झारिएको छ । यसअघि ६१ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध थियो ।
ड्राइभिङ अनुभव
ओमोडा इ फाइभको पहिलो मोडल नै निकै पावर अनुभव गर्न पाइने थियो । कम्पनीले नयाँ प्रो मोडलमा पनि त्यसलाई निरन्तरता दिएको छ । ९९ किलोवाटको मोटरमा उपलब्ध इ फाइभको पीकटर्क २८८ न्यूटन मिटर छ ।
मैले यसलाई काठमाडौंको सडकमा पनि चलाए । स्टेयरिङ माइल्ड छ, रेस्पोन्स उत्कृष्ट गर्छ । घुमाउन सजिलो छ, मिनिमम् टर्निङ सर्कल ५.४ मिटर छ । जुन उत्कृष्ट हो । ५४० डिग्री क्यामेरा र सेन्सरले भिडभाडमा पनि गाडी चलाउन सजिलो हुन्छ ।
हाइवेमा चलाउँदा सधैं इ फाइभको पावरले रोमाञ्चित बनाउँछ । छिटो एक्सलरेसन पाउन सकिन्छ । १०० किलोमिटरसम्मको स्पीडमा पनि गाडी निकै स्टेबल लाग्छ । ओभरटेक गर्दा कुनै संकोच मान्नु पर्दैन ।
हाइवेमा गाडी चलाउँदा केबिनमा सडकको आवाज हल्का आउँछ । गाडीको बडीबाट कुनै किसिमको आवाज निस्कदैन । स्टेयरिङको रेसपोन्स निकै उत्कृष्ट छ । पछाडि इन्डिपेन्डेन्ट सस्पेन्स छ । पुरै गाडीलाई नयाँ बनाउँदा पनि सस्पेन्सन पहिलेकै राखेको पाइयो ।
खाल्डाखुल्डी र उकालो बाटोमा चलाउँदा पनि गाडी निकै सजिलो छ । १९१ एमएम अग्लो ‘ग्राउन्ड क्लियरेन्स’ले बिग्रीएको हाइवेमा पनि ढुक्कसँग गाडी चलाउने ‘कन्फिडेन्ट’ दिन्छ । चालकको लागि दिइएको मसाज सिटको आनन्द कसैलाई गाडीमा बसेर कुर्नुपर्दा लिन सकिन्छ । गाडी चलाउँदै मसाज सिट प्रयोग गर्न भने उपयुक्त हुँदैन ।
रेन्ज ३०० किलोमिटर माथि
मैले काठमाडौंबाट पोखरा जाँदा चलाएको कारण त्यति उकालो बाटोमा चलाउने मौका मिलेन । तर, काठमाडौंबाट पोखरासम्मको २०३ किलोमिटर यात्रा ५१ प्रतिशत चार्जमा सम्पन्न भयो । यसको मतलव नेपाली सडकमा औषत ३३० किलोमिटर रेन्ज पाइने देखियो ।
हामीले यसले सपोर्ट गर्ने डिसी फास्ट चार्जर पनि परीक्षण गरेर हेरेका थियौं । कम्पनीले ११० किलोवाटको डिसी चार्जर सपोर्ट गर्ने जनाएको छ । तर, ८० किलोवाट माथिकै स्पीडमा चार्ज भएको पायौं ।
फरकसँगै फिचरमा छैन सम्झौंता
ओमोडाले इ फाइभ प्रो मोडल अघिल्लोको तुलनामा फरक बनाएको छ । बाहिरी डिजाइनदेखि क्याविनमा ठूलो फरक देखिन्छ । सेन्टर कन्सोल र ड्यासबोर्ड पहिलेभन्दा प्रिमियम लाग्छ ।
सिटहरु आरामदायी छन् । धेरै अग्लो मानिसको लागि हेडरुम केही होचो लाग्छ । म जस्तो औषत हाइट (१.७ मिटर) भएको मानिसलाई समस्या छैन । कुपे डिजाइन भएको कारण पनि हेडरुम कम लाग्छ ।
यस्तो गर्मी महिनामा यात्रा गर्न एसी निकै महत्वपूर्ण मानिन्छ । यसको एसी ड्यूल जोनमा फरक तापक्रममा चलाउन मिल्नेछ । क्याविन चिसो बनाउने मामलामा पनि खरो उत्रन्छ ।
एडास लेभल टुको प्रयोगले चालकलाई सजिलो बनाउँछ । पोखरा गएको कारण एडाप्टीभ क्रुज कन्ट्रोलको प्रयोग राम्रैसँग गर्न सकियो । सडकमा राम्रो मार्किङ भएको एरियामा लेन किप एसिस्टको प्रयोग निकै राम्रो थियो ।
निस्कर्ष
५० लाखभन्दा कम मूल्यमा अहिले पाइने इ फाइभ प्रोमा थुप्रै सुधार भएको छ । भ्यान्टिलेटेड र मसाज सिट भएको कारण अझ फिचर थप भयो भन्न सकिन्छ । ब्याट्री साइज घटेपनि हाइवेमा पाइने चार्जरको कारण यात्रा गर्न समस्या हुँदैन ।
आफ्नो ‘पन्ची’ ड्राइभिङ विशेषतालाई कायमै राख्दै नयाँ इ फाइभ प्रो बजारमा आएको छ । यसले आफ्नो सेग्मेन्टमा रहेका एमजी एस फाइभ, लीपमोटर बी-१०, दिपल एस-०५ प्लस, बीवाइडी एटो २ लगायत मोडललाई टक्कर दिने देखिन्छ ।


