विद्युतीय सवारी आन्तरिक पर्यटनको नयाँ अवसर : कुमार कोइरालाको विचार

काठमाडौं । सहज यातायात र पर्यटन एकअर्कासँग गहिरो रूपमा जोडिएका विषय हुन् । कुनै गन्तव्यमा प्राकृतिक सौन्दर्य, ऐतिहासिक सम्पदा, सांस्कृतिक विविधता र उत्कृष्ट आतिथ्यता भए पनि त्यहाँ सहज, सुरक्षित र किफायती रूपमा पुग्न नसकिए पर्यटनको विकास सीमित हुन जान्छ । विशेषगरी नेपालजस्ता मुलुकमा आन्तरिक पर्यटनको भविष्य अब केवल गन्तव्यको आकर्षणमा मात्र नभई त्यहाँसम्म पुग्न सकिने सहजतामा निर्भर हुने गर्दछ ।

पर्यटनको आधारभूत परिभाषा नै मानिसहरूले एक स्थानबाट अर्काे स्थानमा भ्रमण गर्नु हो । चाहे, त्यो मनोरञ्जनका लागि होस्, धार्मिक यात्राका लागि होस् वा सांस्कृतिक अनुभवका लागि, प्रत्येक पर्यटकिय गतिविधिको पहिलो चरण यातायात हो ।

विश्वका सफल पर्यटन मुलुकहरूको अनुभव हेर्दा यातायात प्रणाली जति सहज, भरपर्दाे र किफायती हुन्छ, त्यति नै आन्तरिक पर्यटन फस्टाएको पाइन्छ । राम्रो सडक सञ्जाल, गुणस्तरीय सार्वजनिक यातायात, सुलभ हवाई सेवा र निजी सवारी साधनको पहुँचले पर्यटन फस्टाउनुमा महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेपालको वास्तविकता : यात्रा खर्च नै प्रमुख बाधा

नेपालमा पछिल्ला वर्षहरूमा आन्तरिक पर्यटनप्रति रुचि उल्लेखनीय रूपमा बढेको छ । तर, अझै पनि गन्तव्यसम्म पुग्ने यात्रा खर्च र सहजता धेरै नेपालीका लागि मुख्य चुनौती बनेको छ ।

विशेषगरी आन्तरिक हवाई यात्राको लागत निकै महँगो छ । कतिपय गन्तव्यहरूमा दुईतर्फी हवाई टिकटको मूल्य नै दुई रातको होटल बसाइभन्दा बढी पर्ने अवस्था छ । एउटा परिवारले भ्रमण गर्दा यातायात खर्च नै कुल बजेटको सबैभन्दा ठूलो हिस्सा बन्न पुग्छ ।

अर्काेतर्फ, गुणस्तरीय सार्वजनिक यातायात सेवा मुख्य रूपमा पोखरा, चितवन र लुम्बिनी जस्ता सीमित गन्तव्यहरूमा केन्द्रित छ । गोरखा, इलाम, रुकुम, डोल्पा, बाजुरा, बझाङ, ताप्लेजुङ लगायतका धेरै सम्भावना बोकेका पर्यटन गन्तव्यहरूमा अझै पनि भरपर्दाे र सहज सार्वजनिक यातायातको अभाव छ । फलस्वरूप, गन्तव्य आकर्षक भए पनि त्यहाँ पुग्न कठिन हुँदा पर्यटकको संख्या अपेक्षित रूपमा बढ्न सक्दैन ।

विद्युतीय सवारी : आन्तरिक पर्यटनको नयाँ अवसर

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को बढ्दो प्रयोगले पर्यटन क्षेत्रमा नयाँ सम्भावना सिर्जना गरेको छ । पेट्रोलियम इन्धनमा चल्ने सवारीको तुलनामा विद्युतीय सवारीको संचालन खर्च अत्यन्त न्यून हुन्छ । एक पटक चार्ज गरेर लामो दूरीको यात्रा गर्दा लाग्ने खर्च इन्धन खर्चको सानो अंश मात्र हुन सक्छ ।

यसले नेपाली परिवारहरूको यात्रा गर्ने सोच र व्यवहारमा परिवर्तन ल्याई रहेको अनुभब गर्न सकिन्छ । ईभी प्रयोगकर्ताले कम खर्चमा धेरै पटक यात्रा गर्न, मुख्य पर्यटकीय शहरभन्दा बाहिरका गन्तव्यहरू अन्वेषण गर्न, सप्ताहन्त भ्रमणलाई नियमित बनाउन, सार्वजनिक यातायात कमजोर भएका क्षेत्रहरूमा पनि सहज रूपमा पुग्न सक्छन ।

आज काठमाडौंबाट गोरखा, इलाम, बन्दीपुर वा अन्य गन्तव्यहरूमा विद्युतीय सवारीमार्फत यात्रा गर्दा लाग्ने खर्च कतिपय अवस्थामा हवाई यात्राको तुलनामा अत्यन्त कम हुन्छ । यसले पर्यटनलाई थप पहुँचयोग्य बनाउँछ ।

गतिशीलताले नयाँ पर्यटन बजार सिर्जना गर्छ

सहज र सस्तो यातायातले केवल पर्यटकलाई मात्र फाइदा गर्दैन, यसले स्थानीय अर्थतन्त्रलाई पनि बलियो बनाउँछ । जब मानिसहरू सजिलै यात्रा गर्न सक्छन्, त्यसले होटलहरूको अकुपेन्सी बढ्छ, नयाँ होटलहरू थपिने सम्भावना हुन्छ, रेष्टुरेन्ट तथा क्याफेहरूमा ग्राहक बढ्छन्, स्थानीय गाइडहरूले रोजगारी पाउँछन् । साथै, सांस्कृतिक तथा धार्मिक स्थलहरूमा आगन्तुक बढ्छन् र स्थानीय उत्पादन तथा हस्तकलाको बजार विस्तार हुन्छ । यसरी गतिशीलतामा सुधार आउँदा पर्यटनको लाभ केही सीमित गन्तव्यमा मात्र केन्द्रित नभई देशभर फैलिन सक्छ ।

सरकारको अभिभावकीय भूमिका आवश्यक छ

पर्यटन उद्योगले मात्र यातायात पूर्वाधारको समस्या समाधान गर्न सक्दैन । सडक, चार्जिङ स्टेशन, सार्वजनिक यातायात र क्षेत्रीय पहुँच सुधारका लागि सरकारी नेतृत्व आवश्यक हुन्छ । जहाँ सरकारले यी ५ काममा महत्वपूर्ण भूमिका खेल्नुपर्छ ।

१. चार्जिङ पूर्वाधार विस्तार : दूरदराजका गन्तव्यमा यात्रा गर्दा चार्जिङको अभाव ठूलो चिन्ताको विषय बन्न सक्छ । सरकारले प्रमुख पर्यटन मार्गहरूमा निश्चित दूरीमा फास्ट चार्जिङ स्टेशन स्थापना गर्न निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्छ । यात्रुले नेपालका जुनसुकै पर्यटन गन्तव्यमा पनि ‘रेन्ज एङ्जाइटी’ बिना यात्रा गर्न सक्ने वातावरण बन्नुपर्छ ।

२. गतिशील पर्यटन करिडोरको विकास : पर्यटनसँग जोडिएका सडकहरूलाई केवल सडक नभई आर्थिक पूर्वाधारको रूपमा हेर्नु पर्छ । यस्ता मार्गहरू नियमित मर्मतसम्भार, स्पष्ट संकेत चिह्न, विश्रामस्थल, आपतकालीन सहायता, पर्यटक सूचना केन्द्र जस्ता सुविधा विकास गरिनुपर्छ ।

३. ईभी रेन्टलको अवधारण : सबै पर्यटकसँग आफ्नै सवारी हुँदैन । सरकारले निजी क्षेत्रसँग सहकार्य गरी प्रमुख शहरहरूमा ईभी रेन्टल तथा सेल्फ ड्राइभिङ टुरिजमको अवधारणा विकास गर्न सक्छ । यसले युवा पुस्तालाई नयाँ गन्तव्यहरू खोज्न थप प्रेरित गर्नेछ ।

४. पर्यटकीय सार्वजनिक यातायातमा लगानी : मुख्य पर्यटन स्थलहरूलाई जोड्ने विद्युतीय शटल सेवा, मिनी बस तथा साझा यातायात प्रणालीलाई प्रोत्साहन गर्न सकिन्छ । यसले निजी सवारी नभएका यात्रुहरूलाई पनि सहज र आरामदायी यात्रा गर्ने अवसर प्रदान गर्नेछ ।

५. समुदायमा आधारित यातायात प्रणाली : स्थानीय तहहरूले पर्यटन केन्द्रित यातायात सहकारी तथा सामुदायिक यातायात सेवाहरूलाई प्रोत्साहन गर्न सक्छन् । यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै पर्यटन पहुँच पनि सुधार गर्छ ।

६. पर्यटन र यातायात नीतिको एकीकरण : नेपालमा पर्यटन योजना र यातायात योजना प्रायः छुट्टाछुट्टै बनाइन्छन् । भविष्यका पर्यटन नीतिहरूमा प्रत्येक गन्तव्यको पहुँच, पार्किङ, चार्जिङ सुविधा र सार्वजनिक यातायातको अवस्थालाई अनिवार्य रूपमा समावेश गरिनुपर्छ ।

पोखरा र चितवनभन्दा बाहिरको सम्भावना

नेपालको पर्यटनको भविष्य केवल विदेशी पर्यटकको संख्यामा मात्र निर्भर छैन । लाखौँ नेपालीहरूलाई आफ्नै देशभित्र सकेसम्म बढी यात्रा गर्न प्रेरित गर्न सकियो भने पर्यटन अर्थतन्त्रले नयाँ उचाइ लिन सक्छ ।

गोरखा जस्ता ऐतिहासिक तथा धार्मिक महत्व बोकेका गन्तव्य, इलामका हरिया चिया बगान, सुदूरपश्चिमका प्राकृतिक सौन्दर्य, कर्णालीका सांस्कृतिक सम्पदा र हिमाली क्षेत्रका अनुपम दृश्यहरू अझै पनि पर्याप्त रूपमा आन्तरिक पर्यटनको प्रवाहबाट लाभान्वित हुन सकेका छैनन् । यदि, पहुँच सहज बनाइयो भने यस्ता गन्तव्यहरू नेपालको पर्यटन विकासका नयाँ केन्द्र बन्न सक्छन् ।

निष्कर्ष

मोबिलिटी केवल यातायातको विषय होइन, यो पर्यटन विकासको आधारभूत आवश्यकता हो । नेपालमा विद्युतीय सवारीको बढ्दो प्रयोगले आन्तरिक पर्यटनलाई नयाँ उचाइमा पु‍र्याउने ऐतिहासिक अवसर सिर्जना गरेको छ ।

अब सरकारको भूमिका सडक, चार्जिङ पूर्वाधार, गुणस्तरीय सार्वजनिक यातायात र पर्यटनमैत्री नीति निर्माणमा केन्द्रित हुनुपर्छ । यदि, नेपालले पर्यटन र गतिशीलतालाई एउटै विकास रणनीतिको रूपमा अगाडि बढाउन सक्यो भने पर्यटनका लाभहरू देशका सबै कुनाकाप्चासम्म पुग्नेछन् ।

अन्ततः नेपालको आन्तरिक पर्यटनको भविष्य हामी कहाँ जान चाहन्छौं भन्नेभन्दा पनि त्यहाँसम्म कति सहज रूपमा पुग्न सक्छौं भन्ने कुराले निर्धारण गर्नेछ ।

(२५ वर्षदेखि पर्यटन सेवामा आबद्ध लेखक कोइराला हाल गोरखा गार्डेन होटल, गोरखाका महाप्रबन्धक छन् ।)


Back_to_top