सस्तो फोर ह्वील ड्राइभ इलेक्ट्रीक पिकअप भनेकै ‘रिडारा इकोन’

काठमाडौं । जिली अटो ग्रुप अन्तर्गतको रिडारा ब्राण्डको विद्युतीय पिकअप ‘आरडी–६ इकोन’ फोर बाइ फोर नेपालमा बिक्री हुँदै आएको छ । सीजी मोटर्सले ७५ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर यसलाई बिक्री गर्दै आएको हो ।

बजारमा उपलब्ध इलेक्ट्रीक पीकअप मध्ये सबैभन्दा सस्तो फोर ह्वील पीकअप नै रिडारा इकोन हो । रिडारा इकोन नेपालमा सबैभन्दा पहिलो फुल प्याकेज इलेक्ट्रीक पीकअपको रूपमा बजारमा आएको छ ।

फोर ह्वील ड्राइभ, २८० किलोवाट क्षमताको उच्च क्षमताको मोटर, ४८५ न्युटन मिटर पिकटर्क इकोन पीकअपमा पाउन सकिन्छ ।

रिडाराले आफ्नो इकोन पीकअपमा २२५ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स दिएको छ । नेपाली सडक अनुसारको क्षमता र दक्षता रहेको इकोन पीकअप व्यावसायिक प्रयोजनको लागि उपयुक्त मोडल हो ।

रिडारा इकोनको टप स्पीड क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको छ । यसले ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति भेट्टाउन केवल ७ सेकेण्ड मात्रै लगाउने छ ।

इकोन पीकअपमा ह्विल ड्राइभ सिस्टमसँगै इको, कम्फर्ट, स्पोट्र्स, स्याण्ड, मड र स्नो जस्ता ड्राइभिङ मोड उपलब्ध छन् । यसले सडकको अवस्था र आवश्यकता अनुसार ड्राइभिङ मोड फेरेर गाडी चलाउन सकिन्छ ।

लोड बोक्ने र तान्ने अद्भूत क्षमता

रिडारा इकोन फोर वाइ फोर पीकअपले १ हजार २३५ किलोग्रामसम्मको लोड बोक्न सक्छ । यसले ३ हजार किलोग्राम तान्ने क्षमता राख्छ ।

व्यावसायिक प्रयोजनको लागि पीकअप किन्नेहरूले हेर्नु पर्ने कुरा नै लोडिङ र टोइङ क्षमता हो । रिडारा आरडी ६ इकोनको दुवै क्षमता राम्रो छ । यसमा कार्गो एरियाको लम्बाइ १५२५ एमएम, चौडाइ १४५० एमएम र उचाइ ५४० एमएम छ । बोनेटको तल पनि ७० लिटर क्षमताको फ्रन्ट फ्रंक पाउन सकिन्छ ।

ब्याट्री र रेन्ज

रिडारा इकोनमा ७३ किलोवाट आवर क्षमताको एलएफपी (लिथियम आइरन फोस्फेट) ब्याट्री पाउन सकिन्छ । उक्त ब्याट्रीले एनईडीसी परीक्षण मापदण्डअनुसार ३९० किलोमिटर रेन्ज दिन्छ । वास्तविक सडक र नेपाली सडक कन्डिसन अनुसार ३०० किलोमिटर हाराहरी रेन्ज पाइने छ ।

इकोन पीकअपमा रहेको ब्याट्रीले ९० किलोवाटको डीसी चार्जर सपोर्ट गर्छ । उक्त चार्जरले ब्याट्रीलाई ३० प्रतिशतबाट ८० प्रतिशतसम्म करिब ३० मिनेटमा चार्ज गर्न सक्ने कम्पनीले जनाएको छ ।

विद्युतीय पिकअप भएकाले यसमा व्यावसायिक उपयोगसँगै ५ जनाले आरामदायी रूपमा यात्रा गर्न सक्ने छन् ।

अन्य फिचर

रिडारा इकोन पिकअपको ड्यासबोर्डमा १४.६ इन्चको टचस्क्रीन, १०.२५ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, भ्वाइस कमाण्ड, वायरलेस स्मार्टफोन चार्जिङ प्याड पाउन सकिन्छ । साथै, ड्युलजोन एयर कण्डिसन, रियर प्यासेन्जर एसी भेन्ट, प्यानारोमिक सनरुफ, इलेक्ट्रीक मल्टिफङ्सनल स्टेरिङ ह्वील, ५४० डिग्री सराउण्ड भ्यू क्यामेरा दिइएको छ ।

सुरक्षाका लागि एयरब्याग, चारै चक्कामा डिस्क ब्रेक, १४ फिचर भएको एडास सिस्टम, इलेक्ट्रीक स्टेबिलिटी कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हिल डिसेन्ट कन्ट्रोल लगायत फिचर रहेको छ ।

अफरोड क्यापेबल रेडारा फोरह्वील ड्राइभ पीकअपमा १८ इन्चको ह्वील तथा २२५ एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ । यो पीकअपमा स्याण्ड, मड, अफरोड, वेडिङ, इकोनमी, कम्फर्ट र स्पोट्स गरी ७ प्रकारको ड्राइभिङ मोड रहेको छ । यसको वाटर वेडिङ क्यापासिटी ८१५ एमएमको रहेको छ ।


Back_to_top