महिन्द्राका दुई फ्ल्यागसिप एसयूभी हाइब्रिड र ईआरईभीमा आउने

काठमाडौं । बदलिँदो विश्व अटोमोबाइल बजारलाई मध्येनजर गर्दै भारतीय अटोमोबाइल ब्राण्ड महिन्द्राले आफ्नो दीर्घकालीन पावरट्रेन रणनीतिमा ठूलो परिवर्तन गरेको छ ।

कम्पनीले विश्व ईभी बजारको गति र गहकको आवश्यकतालाई ध्यान दिँदै आफ्ना दुई चर्चित एसयूभी अब हाइब्रिड र रेन्ज एक्सटेन्डर (ईआरईभी)मा ल्याउने भएको हो ।

कम्पनीले आफ्ना प्रमुख फ्ल्यागसिप एसयूभी एक्सयूभी सेभेन एक्सओ फुल हाइब्रिड र एक्सईभी नाइन एस ईआरईभी पावरट्रेनमा ल्याउने तयारी गरिरहेकाे हो ।

महिन्द्राले सुरुआतमा आफ्नो प्योर इलेक्ट्रीक (इंग्लो) प्लेटफर्ममा आधारित रहने गरी डिजाइन गरेको एक्सईभी नाइन एस अब रेन्ज एक्स्टेन्डर हाइब्रिड प्रणालीमा लैजाने भएको छ ।

महिन्द्राको ईआरईभी प्रविधिले सामान्य हाइब्रिड गाडीहरूमा जस्तो यसमा रहेको पेट्रोल इन्जिनले सीधै पाँग्रा घुमाउँदैन। यसमा रहने सानो क्षमताको पेट्रोल इन्जिनले गुडिरहेकै समयमा ब्याट्री चार्ज गर्ने जेनेरेटरको मात्र काम गर्छ ।

गाडी पूर्ण रुपमा विद्युतीय मोटरबाटै चल्ने भएकाले चालकले शुद्ध ईभीकै जस्तै द्रुत गति र सहज अनुभव पाउनेछन् । यद्यपि, विद्यमान प्लेटफर्ममा जेनेरेटर इन्जिन, इन्धन ट्यांकी, एग्जस्ट प्रणाली र कुलिङ सिस्टम एकीकृत गर्न महिन्द्राका इन्जिनियरहरूले गाडीको संरचनात्मक र सुरक्षा ढाँचामा व्यापक परिमार्जन गर्नुपर्नेछ ।

त्यस्तै, महिन्द्राले एक्सयूभी सेभेन एक्सओका लागि सिरिज प्यारालेल स्ट्रङ हाइब्रिड प्रणाली विकास गरिरहेको छ। यो प्रविधिले पेट्रोल इन्जिन, इलेक्ट्रीक मोटर र ब्याट्रीलाई उत्कृष्ट रूपमा समन्वय गर्दछ।

शहरी क्षेत्र वा कम गतिमा गाडी गुड्दा यो पूर्ण रूपमा ब्याट्रीबाट चल्नेछ । जसले गर्दा ट्राफिकमा इन्धनको बचत निकै उच्च हुनेछ । त्यस्तै, हाइवे वा तीव्र गतिमा गुड्दा भने पेट्रोल इन्जिनले सीधै पाँग्रा घुमाउनुका साथै रिजेनेरेटिभ ब्रेकिङमार्फत ब्याट्रीसमेत चार्ज गर्नेछ।

एकपटक पूर्ण रूपमा इन्धन भरेपछि १००० किलोमिटरभन्दा बढीको यात्रा गर्न सकिने भएकाले यस प्रविधिले रेन्ज एन्जाइटीलाई पूर्ण रूपमा समाप्त पार्ने विश्वास कम्पनीले लिएको छ।

कम्पनीले हालै सार्वजनिक गरेको नयाँ ‘लाइफस्टाइलर’ पिकअप ट्रकको ईभी मोडल चाँडै बजारमा नल्याउने स्पष्ट पारेको छ। यो नयाँ स्कर्पियो लाइफस्टाइलर पिकअप परम्परागत डिजेल र टर्बो पेट्रोल इन्जिनमै उपलब्ध हुनेछ।


Back_to_top