काठमाडौं । नेपालमा साना विद्युतीय कारमा सर्वाधिक सफल मोडल टाटा टियागो ईभी हो । टाटाको पारिवारीक कारको पहिचान बनाउन सफल टियागो ईभी नेपाल आएदेखि नै सफलताको स्वाद लिइरहेको मोडलमा पर्छ ।
उसोत त्यही मूल्यको आसपासमा बिक्री थालिएको तर, बजारले राम्रोसँग प्रतिक्रिया नदिएको प्रोडक्ट हो ‘लीपमोटर टी–०३’ । यी दुई ह्याचव्याक कारको बीचमा धेरै भिन्नता छैन । लगभग एउटै साइजका यी दुई ह्याचव्याक मध्ये टाटा भारतीय उत्पादन हो । लीपमोटरको उत्पादन चीनमा हुन्छ ।
यी दुई ह्याचव्याक कारको मूल्य पनि लगभग समान नै थियो । यसअघि टियागो टप भेरियन्टको मूल्य २९ लाख ९९ हजार थियो । लीपमोटर टी-०३ को मूल्य २८ लाख ९९ हजार कायम गरेर बिक्री गरियो । तर, यो दौडमा टियागोको छेउछाउमै टी-०३ आउन सकेन ।
अब भने यी दुई ह्याचव्याक कारको बीचमा अन्तर आउने भएको छ । यसअघि लीपमोटर टी-०३ धेरै कर लाग्ने सेग्मेन्टमा थियो । यसमा भन्सार २० प्रतिशत, अन्तःशुल्क १५ प्रतिशत, सडक निर्माण कर ५ प्रतिशत र मूल्य अभिवृद्धि कर १३ प्रतिशत लाग्थ्यो ।
टी-०३ मा लाग्ने करको संरचना अब बदलिएको छ । सीआएफ मूल्य २० लाखभन्दा कम भएका कारमा भन्सार २० प्रतिशत, स्वच्छ पूर्वाधार निर्माण कर २.५ प्रतिशत, सडक निर्माण कर २.५ प्रतिशत मात्रै लाग्ने भएको हो । त्यसमा १३ प्रतिशत भ्याट त लाग्ने नै भयो ।
समग्रमा पहिले ६३.७४ प्रतिशत कर लाग्दै आएको टी-०३ मा नयाँ कर ब्यवस्था अनुसार ४५.९४ प्रतिशत मात्रै कर लाग्छ । समग्रमा टी-०३ मा १७.८ प्रतिशतले कर घट्दैछ ।
टाटाको टियागो ईभी पूर्णत फेसलिफ्ट भएर आउन लागेको छ । जसको लुकको प्रशंसा अहिले बजारमा बाक्लै सुनिन्छ ।
अघिल्लो वर्षको तुलनामा डलरको मूल्य निकै माथि गएको कारण टी-०३ को मूल्य १० देखि १२ प्रतिशतले घट्ने अनुमान गर्न सकिन्छ । मूल्य घटेसँगै टियागो ईभीसँगको यसको प्रतिस्पर्धा रोचक हुने अनुमान गर्न सकिन्छ ।
तर, यहाँ ध्यान दिनु पर्ने कुरा के हो भने टाटाको टियागो ईभी पूर्णत फेसलिफ्ट भएर आउन लागेको छ । जसको लुकको प्रशंसा अहिले बजारमा बाक्लै सुनिन्छ । यस्तोमा मूल्यसँगै मोर्डन लुकको कुराले पनि ग्राहकको छनोटमा फरक पार्छ ।
नयाँ टियागोमा के के परिवर्तन भयो ?
टियागो ईभी २०२६ को अगाडिको ग्रिल नै परिवर्तन भएको छ । फ्रन्ट फेसिया प्रिमियम कारको जस्तो लाग्छ । अगाडि र पछाडि नै नयाँ बम्पर प्रयोग भएको छ । टेल लाइटमा कनेक्टेड स्टाइल प्रयोग भएको छ । एरो अप्टिमाइज्ड ह्वील डिजाइन, क्लोजअफ ग्रिल, नयाँ डिजाइनको एलईडी डिआरएल र स्लीम एलईडी हेडल्याम्पले नयाँ फिल दिन्छ ।

बाहिर जस्तै क्याबिनमा पनि ठूलो परिवर्तन देख्न पाइन्छ । ड्यासबोर्डमा फ्लोटिङ इन्फोटेन्टमेन्ट स्क्रीन, टु स्पोक स्टेयरिङ ह्वील, ड्युल टोन ड्यासबोर्ड, नयाँ डिजिटल इन्स्ट्रुमेन्ट क्लष्टर दिइएको छ ।
टाटाले समय अनुसारको टेक फिचर दिएर ल्याएको नयाँ टियागो ईभीमा ३६० डिग्री क्यामेरा, ६ एयरब्याग, रियर एसी भेन्ट, दुई वटा वायरलेस चार्जर, १०.२५ इन्चको टच स्क्रीन, टायर प्रेसर मोनिटरिङ सिस्टम, ६ वटा स्पीकर दिएको छ । ब्याट्री २४ किलोवाट आवर र मोटर भने ४८ किलोवाट क्षमताको रहने छ ।
लीपमोटर टी-०३ कस्तो छ ?
युरोपियन ब्राण्ड स्टेलान्टीसको लगानी रहेको लीपमोटर टी–०३ लाई कम्पनीले ‘आईफ्लाई टेक ३.० भोइस इन्टरएक्सन सिस्टम’ दिएको छ । उक्त भोइस एसिस्टेन्सको सहयोगले फोनकल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्याड्स फ्रीमै कन्ट्रोल गर्न सकिन्छ ।

क्लासिक डिजाइनमा उपलब्ध टी-०३ लीपमोटरको ‘प्रोपाइटरी इलेक्ट्री फिकेसन च्यासिस टेक्नोलोजी’मा आधारित छ । यसमा ९३ प्रतिशत हाइ इफिसीयन्सी मोटर रहेको कम्पनीको दावी छ ।
टी-०३ को बलियो पक्ष यसको ब्याट्री साइज र मोटर पावर हो । यसमा ३७ किलोवाट आवरको ब्याट्री र ७० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ ।
निस्कर्ष
यी दुई ह्याचव्याक कार सन् २०२६ मा राम्रो मूल्यको कार खोज्नेलाई एक विकल्पको रुपमा आउने छ । दुबैमा फिचरको कमी छैन । डिजाइनका हिसावले पनि दुबै अब्बल छन् ।
टाटाको सर्भिस लगायतका कुरा निकै बलियो हुनेछ । लीपमोटर आक्रमक मूल्यले उपभोक्तालाई गतिलो छनोट प्रदान गर्ने देखिन्छ ।


