कोटेश्वरमा रोकिनै नपर्नेगरी बन्ने भयो ‘फ्लाइओभर र अन्डरपास’

काठमाडौं । कोटेश्वर-जडिबुटी-तिनकुनेमा हुने ट्राफिक जाम कम गर्न विगतदेखि नै सरकारी तहबाट थुप्रै कामहरुको बारेमा चर्चा भएको थियो । अहिले उक्त आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन र लगानीको रकम सुनिश्चित भइसकेको छ ।

जाइकाले गरेको अध्ययन प्रतिबेदनले फ्लाइओभर तथा अन्डरपास सहितको विभिन्न विकल्प दिएको थियो । त्यही अध्ययन प्रतिवेदनका आधारमा सडक सुधारको लागि आवश्यक काम अगाडि बढ्ने भएको हो । त्यसको लागि नेपाल सरकार र जापान सरकारबीच २०८२ साल मंसिर १७ गते ऋण सम्झौंता भइसकेको छ ।

जाइकाको अग्रसरता भएको अध्ययनका आधारमा जापान सरकारसँग ३१ अर्ब ७६ करोड नेपाली रुपैयाँ बराबरको ऋण सम्झौंता भएको हो । उक्त रकम नेपाल सरकारले ३० वर्ष भित्र फिर्ता गर्नेगरी लिएको हो । ब्याज भने ०.२ प्रतिशत मात्रै लाग्नेछ ।

जाइकाले विभिन्न कोणबाट अध्ययन गर्दै थुप्रै विकल्प दिएको थियो । आएका विकल्प मध्येबाट सबैभन्दा उपयुक्त र कम खर्चिलो प्रस्ताव सरकारले छनोट गरेको छ । जस अन्तर्गत कोटेश्वर क्षेत्रमा १.८ किलोमिटर लामो बहुस्तरीय सडक, ४४० मिटर लामो फ्लाइओभर र एयरपोर्टको जग्गामा ६४० मिटर लामो अन्डरपास बन्नेछ ।

अन्डरपास हुँदै आउने सवारी साधनलाई ब्यवस्थित गर्न तीनकुनेपट्टि ४०० मिटर लामो अर्को फ्लाइओभर निर्माण हुनेछ । सबै नयाँ संरचना निर्माणपछि कोटेश्वर क्षेत्रमा कुनैपनि बाटो हुँदै आउने सवारी साधनले रोकिएर बस्नु पर्ने छैन ।

जाइकाको अध्ययनले देखाएको मध्ये सबैभन्दा सजिलो र उपयुक्त मानिएको यो विकल्पमा १८ वटा निजी संरचना प्रभावित हुने बताइएको छ ।


Back_to_top