सकिदै ‘प्लगइन हाइब्रिड युग’, यस्ता छन् कारण

काठमाडौं । पेट्रोलियम पदार्थको उपभोग घटाउन भएका आविश्कार मध्ये एक हो हाइब्रिड टेक्नोलोजी । त्यसमा पनि प्लगइन हाइब्रिड कारहरु केही वर्ष निकै चर्चामा रहेका थिए । प्लगइन हाइब्रिडलाई पनि धेरै देशले अहिले पनि क्लिन इनर्जी भेहिकल भनेको छ ।

नेपाल सरकारले पनि यसमा केही अन्तःशुल्क छुट दिदै आएको छ । प्लगइन हाइब्रिड टेक्नोलोजी उपभोक्ताले पनि मनपराएका छन् । हाइब्रिड टेक्नोलोजीको खोज करिब १२३ वर्ष अगाडि सन् १८९९ मा हेन्द्री पिकरले गरेका थिए । उनले पहिलो पटक पेट्रोल इलेक्ट्रीक हाइब्रिड भेहिकल नाम दिएर बनाएका थिए ।

सामान्यतया दुई वा दुईभन्दा बढी प्रकारका इन्धनबाट संचालन हुने भेहिकललाई हाइब्रिड भेहिकल भनिन्छ । चलनचल्तीमा भएका हाइब्रिड भेहिकल प्लगइन र नन् प्लगइन गरी दुई प्रकारका छन् । प्लगइन हाइब्रिड भन्नाले सवारीसाधनमा रहेको ब्याट्रीलाई बाहिरी विजुलीको सहायताले रिचार्ज गर्ने हो । त्यस्तै नन् प्लगइन हाइब्रिड भनेको गाडी चल्दा गाडीमा रहेको पेट्रोल इन्जिनको सहायताले ब्याट्री आफै रिचार्ज हुने हो ।

प्लगइन हाइब्रिड कारमा इलेक्ट्रीक मोटर, ब्याट्री प्याक र इन्टरनल कम्बस्चन (आईसी) इन्जिन रहन्छ । इन्जिनियरिङको हिसावले विद्युतीय मोटर र इन्जिन दुबै चाहिने भएकाले यो अल्ली बढीनै लोडले भरिएको हुन्छ ।

प्लगइन हाइब्रिड कारमा इलेक्ट्रीलक मोटर वा ग्यासोलीन इन्जिन के प्रयोग गर्ने भन्ने छनोट चालकको हातमा रहन्छ । इन्धनको अवस्था अनुसार चालकले गाडी चलाउने गर्छन् । सामान्यतया प्लगइन हाइब्रिड कारमा रहेको ब्याट्रीले ४० देखि ७० किलोमिटरसम्म रेन्ज प्रदान गर्ने गर्छ ।

निकै एड्भन्स टेक्नोलोजी, दुई मोटर जस्ता फिचर रहने भएकोले यी गाडी मूल्यमा महंगा पनि हुन्छन् । यसमा दिइने फिचर समेत निकै एड्भान्स हुनेगर्छ ।

पछिल्लो समयमा इलेक्टीक भेहिकलाको बढ्दो माग र विकास क्रमले गर्दा आगामी समयमा हाइब्रिडको औचित्य सकिन लागेको आंकडाहरु अगाडि आएका छन् । सन् २०२२ को ६ महिनामा पूर्ण इलेक्ट्रीक गाडीको विश्वव्यापी बजार ६० प्रतिशतले वृद्धि भएको छ । तर, प्लगइन हाइब्रिडको ग्रोथ देखिदैन । यसले प्लगइन हाइब्रिडको भविष्य जोखिममा पर्दै गएको संकेत गर्छ । प्लगइन हाइब्रिडका ठूला निर्माताले पनि यसको उत्पादन नगर्ने घोषणा गर्न थालेका छन् ।

विशेषत इलेन्ट्रीक भेहिकलको रेन्ज बढ्नु र संसारभर चार्जिङ स्टेसन विस्तारले तिब्रता पाइरहेको कारण पेट्रोल बचाउनकै लागि प्लगइन हाइब्रिड भेहिकल चढ्नु पर्ने दिन सकिदै गएको छ ।


Back_to_top