१६० सीसीमा नयाँ प्रतिस्पर्धी, मूल्य निर्णायक

काठमाडौं । मोटरसाइकल बजार निकै प्रतिस्पर्धी मानिन्छ । विशेषगरी भारतीय उत्पादक कम्पनी बजाज र टीभीएस बीच निकै कडा प्रतिस्पर्धा चलिरहेको छ ।

बजाजले पल्सर एन १६० भारतमा सार्वजनिक गरेसँगै टीभीएस आरटीआर १६० फोर भीले नयाँ प्रतिस्पर्धी पाएको छ । यी दुबै मोटरसमइकल मध्ये पल्सर एन १६० केही समय भित्रै नेपाल आउने छ भने जगदम्वा मोटर्सले आरटीआर १६० फोर भी आरटीएफआई भर्सन नेपालमा विक्री सुरु गरेको छ ।

यी दुई मोटरसाइकल एक अर्काका कडा प्रतिस्पर्धी बन्ने पक्का छ । बजाजले पल्सर एन २५० मा आधारित रहेर ल्याएको नयाँ मोटरसाइकल एन १६० र अपाचे आरटीआर १६० फोर भी नेकेड स्ट्रीट फाइटर मोटरसाइकल हुन् ।

१६० सीसी सेग्मेन्टका यी दुई मोटरसाइकल बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । यी दुई मोटरसाइकल बीच रहेको समानता तथा भिन्नतालाई यहाँ केलाउने प्रयास गरेको छौं ।

लुक्स

यी दुबै मोटरसाइकल स्ट्रीट फाइटर डिजाइनमा छन् । एरो डाइनामिक बडी र फ्रन्ट लुक्स निकै सार्प भएको कारण यी दुबै मोटरसाइकल युवाहरुको रोजाईमा पर्ने छ ।

इन्जिन

बजाज पल्सर एन १६० मा १६४.८२ सीसी सिंगल सिलिन्डर, २ भल्भ, आयल कुल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८७५० आरपीएममा उच्चतम १६ पीएस पावर तथा ६७५० आरपीएममा १४.६५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

टीभीएस अपाचे आरटीआर १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिन्डर, ४ भल्भ, आयल कुल्ड, आरटीएफआई इन्जिन रहेको छ । यो इन्जिनले ९२५० आरपीएममा अधिकतम १७.५५ पीएस पावर तथा ८४०० आरपीएममा १५.५३ एनएम टर्क जेनेरेट गर्छ । यसमा समेत ५ स्पीडको गियरबक्स पाउन सकिन्छ ।

डाइमेन्सन

यी दुबै मोटरसाइकलको आवरण लगभग समान जस्तै छन् । बजाज पल्सर एन १६० को ह्वीलवेस १३५८ एमएम, ग्राउन्ड क्लियरेन्स १६५ एमएम र सिट हाइट ७९५ एमएम रहेको छ । यसको कुल तौल १५२ किलोग्राम रहेको छ । यो मोटरसाइकलमा १४ लिटरको फ्युल ट्याङक पाउन सकिन्छ ।

त्यस्तै अपाचे आरटीआर १६० फोर भीको ह्वीलवेस १३५७ एमएम, ग्राउन्ड क्लियरेन्स १८० एमएम, सिट हाइट ८०० एमएम रहेको छ । यसको कुल तौल १४४ केजी रहेको छ । यो मोटरसाइकलमा १२ लिटरको इन्धन ट्याङ्क पाउन सकिन्छ ।

ब्रेक/सस्पेन्सन

यी दुबै मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक पाउन सकिन्छ । बजाज पल्सर एन १६० को फ्रन्टमा ३०० एमएम र रियरमा २८० एमएमको डिस्क ब्रेक पाउन रहेको छ ।

अपाचे आरटीआर १६० फोर भीको फ्रन्टमा २७० एमएम र रियरमा २०० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।

बजाजले डबल च्यानल एबीएस अप्सन दिएको छ भने टीभीएसमा सिंगल च्यानल एबीएस पाउन सकिन्छ । यी दुबै मोटरसाइकलमा समान सस्पेन्सन रहेको छ । यी दुबै मोटरसाइकलको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोसक सस्पेन्सन उपलब्ध छ ।

अन्य

यी दुबै मोटरसाइकलमा एलइडी लाइट, हेडलाइट र डिआरएल रहेको छ । बजाजले सेमी डिजिटल क्लस्टर र टीभीएसले स्मार्ट कनेक्ट फिचरहितको डिजिटल कन्सोल दिएको छ । त्यस्तै टीभीएसमा तीन राइड मोड पाउन सकिन्छ । बजाजले भने यूएबी चार्जर पोर्ट दिएको छ ।

मूल्य

भारतीय बजारमा यी दुई मोटरसाइकलको मूल्य समान रहेको छ । बजाज पल्सर एन १६० र अपाचे आरटीआर १६० फोर भीको मूल्य समान १ लाख २३ हजार रुपैयाँ रहेको छ ।

नेपाली बजारमा सार्वजनिक भएको अपाचे आरटीआर १६० फोर भी बीएस ६ को मूल्य ३ लाख ८० हजार रुपैयाँ रहेको छ भने पल्सर एन १६० नेपाली बजारमा भित्रन केही समय लाग्नेछ । यसको मूल्य कति हुन्छ भनेर थाहा पाउन केही समय प्रतिक्षा गर्नु पर्ने हुन्छ ।


Back_to_top