१ घण्टामै ४४ हजार युनिट बुकिङ भयो जिलीको पहिलो अफरोड एसयूभी

काठमाडौं । चिनियाँ अटो निर्माता जिलीको पहिलो अफरोड एसयूभी ‘ग्यालेक्सी झान्जियान ७००’मा उपभोक्ताको उच्च आकर्षण देखिएको छ । कम्पनीले चीनमा बुकिङ (प्रिसेल) खुलाएको १ घण्टामै ४३ हजार ९०० युनिट बढी अर्डर हुँदै नयाँ रेकर्ड बनाएको हो ।

जिली ग्यालेक्सीका अनुसार बिक्री खुला गरिएको ९ मिनेटमै यो एसयूभी १० हजार युनिट बुकिङ भएको थियो । गाडीको सीमित ७०० युनिट मात्र उत्पादन गरिएको विशेष ‘ल्यान्ड आर्क’ भेरिन्ट तुरुन्तै सोल्ड आउट भएको छ ।

कम्पनीले चिनियाँ बजारमा यसको मूल्य २९ हजार ४०० देखि ५७ हजार ३०० अमेरिकी डलरसम्म तोकेको छ । यसको शक्तिशाली क्षमता, बोल्ड डिजाइन, आधुनिक प्रविधिको समिश्रणले ग्राहकको ध्यान तानेको हो ।

कम्पनीले ग्यालेक्सी झान्जियान ७०० मा ‘ओरिएन्टल लायन’ डिजाइन शैली अपनाएको छ । अगाडिको भागमा ‘स्काई आई’ लाइटिङ सिस्टम, पूरा चौडाइको डे टाइम रनिङ लाइट, उज्यालो बल्ने ब्राण्ड लोगो रहेको छ।

यो गाडीको लम्बाइ ५०८५ एमएम, चौडाइ १९९९ एमएम छ । उचाइ भेरियन्ट अनुसार १८९५ एमएमदेखि १,९२५ एमएमसम्म छ । यसमा २९०० एमएम लामो ह्वील बेस छ ।

अफरोड क्षमताका लागि यसमा ३० डिग्री एप्रोच एङ्गल, ३१ डिग्री डिपार्टचर एङ्गल, २३३एमएम ग्राउण्ड क्लियरन्स र अधिकतम ८०० एमएमसम्म पानीमा हिँड्न सक्ने क्षमता (वेडिङ डेप्थ) दिइएको छ।

यो एसयूभीको सबैभन्दा ठूलो आकर्षण यसको असाधारण शक्ति हो । यसमा १.५ लटिरक टर्बोचार्ज्ड वा २.० लिटर टर्बोचार्ज्ड इन्जिनको विकल्प पाइन्छ । जुन उच्च प्रदर्शन गर्ने त्रि मोटर अल ह्वील ड्राइभ प्रणालीसँग जोडिएको छ । जसले कुल १,११३ हर्षपावर तथा १३ हजार ९२० पिक ह्वील इन्ड टर्क प्रदान गर्छ ।

यसको टप भेरियन्टले ३.९५ सेकेण्डमै ० देखि १०० किमी/घण्टाको स्पीड भेटाउँछ । यसको ‘मूस टेस्ट’ गति ८० किमी/घण्टा रहेको छ ।

यसमा ४७.१४ किलोवाट आवरको सीएटीएल लिथियम आइरन फोस्फेट ब्याट्री छ । जसले एकपटकको फुलचार्जमा ३०५ किमीको प्योर इलेक्ट्रिक र १,२०० किमीभन्दा बढीको संयुक्त रेन्ज प्रदान गर्छ ।

यसले ८०० हाई भोल्टेज फास्ट चार्जिङलाई सपोर्ट गर्छ । ब्याट्री सकिएको अवस्थामा पनि प्रति १०० किमीमा ५.९५ लिटर मात्र इन्धन खपत गर्छ।

गाडीको भित्री भागमा पाँच स्क्रीनयुक्त इन्टरएक्टिभ प्रणाली, १८.५ लिटरको दुवै तर्फबाट खुल्ने रेफ्रिजरेटर र चालक तथा अगाडिका यात्रुका लागि १४ पोइन्ट मसाज सिटहरू रहेका छन्।

अफरोडिङका लागि यो गाडीमा १७ वटा प्रिसेट ड्राइभिङ मोडहरू भएको एआइ अल टेरेन डिजिटल च्यासिस प्रयोग गरिएको छ । जसमा ‘क्र्याब वाक’ र ‘वाल्ट्ज टर्न’ समावेश छन् । जसले न्यूनतम टर्निङ रेडियसलाई ३.३६ मिटरमा घटाउँछ।


Back_to_top