काठमाडौं । अटोमोबाइल उद्योगमा प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ । अझ ईभीको विकास र बिस्तारसँगै गाडीहरू केवल यात्राका लागि प्रयोग हुने साधनमा मात्र सीमित छैनन् ।
कनेक्टिभिटी, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), ५जी टेक्नोलोजी, एड्भान्स सुरक्षा प्रणाली र भर्चुअल प्रविधिले गाडीको डिजाइनदेखि उत्पादन तथा प्रयोगको शैलीसम्म फेरिदिएको छ ।
त्यसैले अटोमोबाइल उद्योग अहिले विश्वमै तीव्र गतिमा परिवर्तन भइरहेको क्षेत्रमा पर्छ । अटोमोबाइल क्षेत्रलाई निकै प्रतिस्पर्धी बनाउँदै उद्योगमै परिवर्तन ल्याउन सफल भइरहेका प्रमुख प्रविधिका बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।
१. कनेक्टेड भेहिकल
कनेक्टेड कार अटोमोबाइल उद्योगको महत्वपूर्ण प्रविधि बनिसकेको छ । ५जीसहितको कनेक्टिभिटीले सडकमा भएका अन्य गाडी, ट्राफिक लाइट, सडक पूर्वाधार जस्ता कुराबारे गाडीले चालकलाई समयमै सूचना दिन सक्ने भएको छ ।
कार निर्माताहरूका अनुसार कनेक्टेड भेहिकलले ट्राफिक व्यवस्थापन र सडक सुरक्षा व्यापक सुधार ल्याउने छ । साथै, चालकको ड्राइभिङ अनुभवसमेत परिवर्तन गर्दै जानेछ ।
कनेक्ट कार टेक्नोलोजी अन्तर्गत इन-भेहिकल इन्फोटेनमेन्ट प्रणालीको प्रयोग पनि बढिरहेको छ । स्मार्टफोन, सेन्सर, एड्भान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडास) लगायतसँग जोडिने यस्ता प्रणालीमा एआई, भ्वाइस रिकग्निसन, साइबर सुरक्षा र हाइ रिजोलुसनका ठूला डिस्प्लेको प्रयोग बढ्नेछ ।
२. नवीन सुरक्षा प्रणाली
सवारी सुरक्षामा पनि प्रविधिले व्यापक फड्को मारेको छ । एडास, लेन चेन्ज एसिस्ट, अगाडिको वस्तु पहिचान गर्ने क्षमता, आपतकालीन ब्रेकिङ र चालक अचेत भएमा गाडीलाई सुरक्षित रूपमा रोक्ने प्रविधि विकाससँगै अटो क्षेत्र थप प्रतिस्पर्धी बन्दै गएको छ ।

युरोपेली संघको नयाँ सुरक्षा मापदण्डले पनि एडास, पैदलयात्री तथा साइकलयात्री सुरक्षा, इन्टेलिजेन्ट स्पिड असिस्टेन्स र दुर्घटना डेटा रेकर्डिङजस्ता प्रविधिलाई प्राथमिकतामा राख्दै अगाडि जान कार निर्माताहरूलाई निर्देशन दिएको छ ।
३. मोबिलिटी-एज-अ-सर्भिस
‘मोबिलिटी-एज-अ-सर्भिस’ सुरू भएसँगै व्यक्तिगत कार राख्नु नपर्ने अवस्था आउँदैछ । डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक यातायात, ट्याक्सी, राइड/सेयरिङ, बाइक सेयरिङ तथा कार सेयरिङजस्ता सेवा प्रयोगमा आएका छन् । यसले पनि कार निर्माताहरूको ध्यान खिच्दै लगेको छ ।
४. थ्रीडी प्रिन्टिङ
कार उत्पादनमा थ्रीडी प्रिन्टिङको प्रयोग व्यापक बन्दै गएको छ । यसले जटिल र हलुका पार्टपुर्जा निर्माणलाई सहज बनाएको छ । परम्परागत उत्पादनको तुलनामा प्रोटोटाइप निर्माण र परीक्षण छिटो गर्न थ्रीडी प्रिन्टिङले सहयोग गरेको छ । त्यही कारण नयाँ कारको विकास छोटो समयमा सम्भव बनाएको हो ।

५. एआर र भीआर प्रविधि
अगुमेन्टेड रियालिटी (एआर) र भर्चुअल रियालिटी (भिआर)को प्रयोग अटोमोबाइल क्षेत्रले बढाउँदै लगेको छ । यसले उत्पादन डिजाइन, कर्मचारी तालिम, गाडीको बिक्री तथा मार्केटिङमा सहयोग गरिरहेको छ ।


