काठमाडौं । आगामी ५ वर्ष भित्र विश्वकै सबैभन्दा ठूलो कार निर्माता बन्ने बीवाइडीले घोषणा गरेको छ । कम्पनीको वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष वाङ चुआनफुले यस्तो घोषणा गरेका हुन् ।
बीवाइडी अहिले चीनको सबैभन्दा ठूलो कार निर्माता हो । न्यू इनर्जी भेहिकलको उत्पादन र बिक्री दुबै बढ्दै जाँदा कम्पनी अहिले विश्वको छैटौ ठूलो कार निर्माता बनिसकेको छ । सन् २०२५ मा ४६ लाख युनिट कार बिक्री गरेको कम्पनी आगामी ५ वर्ष भित्र टोयोटालाई उछिन्ने योजना सहित अगाडि बढेको प्रस्ट हुन्छ ।
अध्यक्ष वाङ चुआनफुका अनुसार दोस्रो पुस्ताको ब्लेड ब्याट्रीसँगै तिब्र गतिको चार्जिङ बिस्तारले कम्पनीको बिक्रीमा महत्वपूर्ण भूमिका रहने छ । उनि भन्छन्, ‘सेकेन्ड जेनेरेशन ब्लेड ब्याट्रीको प्रयोगपछि बीवाइडीका उत्पादनको बजारमा माग बढ्न थालेको छ । आगामी ५ वर्ष भित्र हामी नम्बर १ अटोमेकर बन्ने छौं ।’
आफ्नो लगानीकर्ता सम्मेलनमा अध्यक्षबाट यस्तो सम्बोधन आउनुलाई धेरैले सेयर मूल्यमा बलियो बन्न बोलिएको पनि भनेका छन् । टेस्लाका मालिक एलोन मस्कले जस्तै मिडियाबाट आफ्नो सेयर मूल्य बलियो बनाउने योजनामा बीवाइडीका चेयरम्यान पनि देखिएको टिप्पणी रोयटर्सले लेखेको छ ।
बीवाइडीको सेयर मूल्य सन् २०२६ लागेसँगै ४५ प्रतिशतले घटेको छ । साथै, २०२६ को ५ महिनामा कम्पनीको चिनियाँ बजारमा हुने बिक्री २९ प्रतिशतले गिरावट आएको छ ।
सन् २०२५ मा भएको बिक्रीलाई आधार मान्ने हो भने टोयोटा बीवाइडीभन्दा निकै अगाडि छ । कम्पनीले ९९ लाख युनिट कार २०२५ मा बिक्री गरेको थियो । जबकी बीवाइडीको बिक्री केबल ४६ लाख युनिट थियो ।
गत वर्षको बिक्रीलाई आधार बनाउने हो भने बीवाइडी अझै ५३ लाख युनिट पछाडि देखिन्छ । यदि, साँच्चै बीवाइडी टोयोटालाई भेट्टाउन चाहन्छ भने वार्षिक १० लाख युनिटले आफ्नो बिक्री बढाउनु पर्ने हुन्छ ।


