बीवाइडीको न्यू जेनेरेसन ‘ई २’ ह्याचब्याक सार्वजनिक

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले नयाँ ईभी सार्वजनिक गरेको छ । कम्पनीले न्यू जेनेरेसन ‘ई २’ ईभी ह्याचब्याक कार सार्वजनिक गरेको हो ।

बीवाइडी ई २ चीनमा सन् २०१९ मा पहिलो पटक ट्याक्सी सेवाका लागि बजारमा उपलब्ध गराइएको थियो । यो गाडीको विक्री २०२० मा १९ हजार ६१६ यूनिट भएको थियो भने सन् २०२१ मा ३४ हजार २६५ पुगेको थियो ।

तर, सन् २०२२ मा कम्पनीले यो मोडलको उत्पादन बन्द गरेको थियो । जसका कारण, यो गाडीको विक्री संख्या घटेर १७ हजार ९३५ यूनिटमा खुम्चिन पुगेको थियो ।

अहिले पुनः ई २ मोडल नयाँ प्लेटफर्म, नयाँ स्टाइल र केही एलिमेन्ट सुधार गर्दै आएको हो । यो कार ई प्लेटफर्म ३.० मा आधारीत रहेको छ । यसलाई बीवाइडीले ओसियन सिरिज अन्तर्गत राखेको छ ।

यसको डाइमेन्सन अघिल्लो मोडलको तुलनामा केही ठूलो पाउन सकिन्छ । कम्पनीका अनुसार यसको लम्बाइ ४२६० एमएम, चौडाइ १७६० एमएम र उचाइ १५३० एमएम रहेको छ । यसको ह्वीलबेस भने २६१० एमएम लामो रहेको छ ।

यस अघिको मोडलको तुलनामा नयाँ ईभी कारको इन्टेरियरमा पूरै भाग सुधार गरिएको छ । यसमा थ्री-स्पोक डी सेप स्टेरिङ ह्वील, ८.८ इन्चको इन्स्ट्रुमेन्ट प्यानल, एनएफसी कार्ड, ब्लुटूथ की लगायत समावेश गरिएको छ ।

कम्पनीले यो ईभीमा ४३.२ किलोवाट आवरको लिथियम फोस्फेट ब्याट्री दिएको छ । यो ब्याट्रीलाई फुलचार्ज गर्दा एकपटकमा ४०५ किलोमिटर रेन्ज दिने सीएलटीसीले जनाएको छ ।

चिनियाँ बजारमा यसको सुरूआती मूल्य १४ हजार ९५० अमेरिकी डलर छ ।


Back_to_top