विश्व कार बजारमा बीवाइडीको जादु, मार्केट सेयरमा पाँचौ स्थान

काठमाडौं । विश्व कार बजारमा हरेक महिना कम्पनीहरुले गरेको बिक्री संख्या र बजार हिस्साको रिपोर्ट सार्वजनिक हुन्छ । यसरी सार्वजनिक हुने रिपोर्टमा बीवाइडीको जादु देखिएको छ । कम्पनी पहिलो पटक पाँचौं धेरै बजार हिस्सा भएको ब्राण्ड बन्न सफल भएको हो ।

यसअघि सबै ठूला कार निर्माताहरुको कब्जामा रहेको टप ५ मार्केट सेयर भएका कम्पनीको सूचीमा पहिलो पटक ‘न्यू इनर्जी भेहिकल’ उत्पादक बीवाइडीले इन्ट्री मारेको हो ।

कम्पनीले जुलाई २०२३ महिनाको बिक्री आधारमा विश्वको ५ औं ठूलो कार निर्माता बन्न सफल भएको हो । कम्पनीको बिक्री जुलाईको तुलनामा अगष्टमा पनि बढेको कारण बजार हिस्सामा बलियो पकड बनाउने सहजै अनुमान लगाउन सकिन्छ ।

जुलाई २०२३ मा विश्वभर ५४ लाख ४० हजार यूनिट कार बिक्री भएको ‘ट्रेन्ड फोर्स’ले सार्वजनिक गरेको तथ्यांकमा देखिएको छ । त्यसमा बीवाइडीले २ लाख ६२ हजार १६१ यूनिट कार बिक्री गरेको थियो । त्यस हिसावले कम्पनीको बजार हिस्सा ४.७ प्रतिशत रहेको थियो ।

जुलाईमा पहिलो स्थानमा टोयोटा रहेको थियो । टोयोटाको बजार हिस्सा १०.२ प्रतिशत, दोस्रो स्थानको फक्सवागेनको ६.६ प्रतिशत, तेस्रो स्थानको होन्डाको ५ प्रतिशत र चौथो स्थानको फोर्डको ४.९ प्रतिशत बजार हिस्सा देखिएको छ । बीवाइडीले हुन्डाईलाई पछाडि पार्दै ५ औं स्थान लिन सफल भएको हो । हुन्डाई भने ४.३ प्रतिशत बजार हिस्सा सहित छैटौं स्थानमा झरेको छ ।

बीवाइडीले आफ्नो बिक्री निरन्तर वृद्धि गर्दै लगेको छ । कम्पनीले यस वर्षको जनवरीदेखि अगष्टसम्ममा १७ लाख ९२ हजार १८१ यूनिट न्यू इनर्जी कार बिक्री गरिसकेको छ । कम्पनीले यो वर्ष ३० लाख यूनिट कार बिक्री गर्ने लक्ष्य लिएको छ । त्यो, लक्ष्य भेट्न मासिक ३ लाख यूनिटको बिक्री पाउनु पर्ने हुन्छ ।


Back_to_top