काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बीवाइडीले एकैपटक झण्डै १ लाख युनिट कार रिकल गरेको छ ।
बीवाइडीले डल्फिन र युवान प्लस (एटो३) गरी कुल ९६ हजार ७१४ युनिट गाडी रिकल गरेको हो ।
बीवाइडीले ४ फेब्रुअरी २०२३ देखि २६ डिसेम्बर २०२३ सम्म बिक्री भएका ८७ हजार ७२६ युनिट डल्फिन र युनिट युवान प्लस रिकल गरेको हो ।
त्यस्तै, कम्पनीले २ नोभेन्बर २०२२ देखि १९ जुन २०२३ सम्म उत्पादन भएका डल्फिन र युवान प्लस पनि रिकल गरेको छ ।
चीनको स्टेट एडमिनिस्ट्रेसन फर मार्केट रेगुलेसनको वेबसाइटका अनुसार आगलागीको जोखिमका कारण उक्त संख्यामा बीवाइडीका ईभी रिकल गरिएको हो । चीनमा आज (सेप्टेम्बर ३०) देखि नै यो रिकल सेड्युल लागू गरिएको छ ।
कम्पनीले उत्पादनको क्रममा कोलुम असिस्ट इलेक्ट्रीक पावर स्टेरिङ कन्ट्रोलर, कन्ट्रोलरमा भएको क्यापासिटर सर्किट बोर्डमा माइक्रो क्रयाक देखिएको जनाएको छ । यस्तो क्रयाक भएको ईभी प्रयोगका क्रममा क्रयाक बढ्न जाने र सर्ट सर्किट भई क्यापासिटरलाई ओभरहिट गराई जल्न सक्ने देखिएको छ । जसले गर्दा गाडीमै आगलागी हुने सम्भावनाका कारण यो रिकल गरिएको कम्पनीले जानकारी दिएको छ ।
बीवाइडीले उक्त समय भित्रका ईभीहरूले आधिकारिक सर्भिस सेन्टरमा गई निःशुल्क कन्ट्रोलर इन्सुलेसन ग्यासकेड परिवर्तन गरी सम्भावित खतराबाट बच्न भनेको छ ।
बीवाइडी चीनको सबैभन्दा ठूलो न्यू इनर्जी भेहिकल उत्पादक कम्पनी हो । नेपाली बजारमा पनि एटो ३ र डल्फिन राम्रै संख्यामा गुडिरहेका छन् ।
नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंकका सीईओ साहिल श्रेष्ठ यो रिकल चीनमा मात्र भएको र अन्तर्राष्ट्रिय बजारमा आएका प्रडक्टमा कुनै समस्या नरहेको बताए ।
‘ठूला कम्पनीहरूले आफ्नो प्रडक्टमा कहीँ कतै समस्या देखिएमा रिकल गर्ने अन्तराष्ट्रिय अभ्यास नै हो,’ उनले भने, ‘नेपालमा गुडिरहेको बीवाइडीका ईभीहरूमा म्यानुफ्याक्चर डिफेक्ट देखिएमा कम्पनीले तुरुन्तै आवश्यक कदम चाल्दै समाधान गरिदिन्छ ।’