काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल ब्राण्ड बीवाइडीले विगत ५ वर्षमा नेपाली बजारमा ८ हजार ५५४ युनिट कार बिक्री गरेको छ । आधिकारिक बिक्रेता साइमेक्स इंकले सन् २०२१ देखि २०२५ को अन्तिमसम्ममा उक्त संख्यामा कार आयात गरेको हो ।
बीवाइडीले पाएको उक्त बिक्री संख्यामा पहिलो ई सिक्स मोडल हो । अहिले त्यसको सट्टामा एम सिक्स बिक्री हुँदै आएको छ । त्यसपछि एटो थ्री, डल्फिन, सिल, सिलायन, एटो वान र एटो टु जस्ता मोडल नेपाल ल्याएको हो ।
अहिले बीवाइडी नेपाली बजारमा सबैभन्दा धेरै मोडलका विद्युतीय कार बिक्री गर्ने ब्राण्ड हो । त्योसँगै उपत्यका र उपत्यका बाहिर गरेर ठूलो बिक्री नेटवर्क र सर्भिस स्टेशन बनाएको साइमेक्स इंकले नेपालमा पनि बीवाइडीलाई बलियो ब्राण्ड बनाएको छ ।
कम्पनीले अहिलेसम्म सबैभन्दा धेरै बीवाइडी एटो थ्री बिक्री गरेको छ । त्यसपछि डल्फिन र एटो टु पनि धेरै बिक्री भएका मोडल हुन् ।
कुन वर्ष कति बेच्यो ?
साइमेक्स इंक प्रालिले सन् २०२१ मा प्यासेन्जर कार सेग्मेन्टमा २५ युनिट आयात गरेको थियो । कम्पनीले ल्याएको सबै कार अल न्यू इ सिक्स थियो ।

सन् २०२२ मा कम्पनीले १७७ युनिट कार बिक्री गरेको थियो । त्यतिबेला ल्याएको कारमा ई सिक्स १६७ युनिट र एटो थ्री १० युनिट थियो ।
सन् २०२३ मा कम्पनीले ठूलो संख्यामा एटो थ्री र डल्फिन बिक्री गरेको देखिन्छ । कम्पनीले अल न्यू ई सिक्स ८५ युनिट, एटो थ्री १ हजार ५३२, डल्फिन ५५१ युनिट र सिल १ युनिट आयात गरेको थियो । सन् २०२३ मा कम्पनीले २ हजार १६९ युनिट बेचेको देखिन्छ ।
त्यसैगरी, सन् २०२४ मा कम्पनीले सबैभन्दा धेरै एटो थ्री बिक्री गरेको देखिन्छ । त्यो वर्ष कम्पनीले एटो थ्री २ हजार ६८ युनिट, डल्फिन १ हजार ३५५ युनिट, सिल ४ युनिट र एम सिक्स १०१ युनिट आयात भएको थियो । सन् २०२४ मा कम्पनीले ३ हजार ५२८ युनिट कार बिक्री गरेको देखिन्छ ।
भर्खरै सकिएको २०२५ मा कम्पनीले तीन नयाँ मोडल बजारमा ल्यायो । पुराना मोडलको बिक्री तुलनात्मक रूपमा घटेको देखिएको भए पनि नयाँ मोडलको बिक्री निकै राम्रो देखिन्छ । कम्पनीले सिलायन सेभेन, एटो टु र एटो वान मोडल नेपाल ल्याएको हो ।

सन् २०२५ मा बीवाइडीको सबैभन्दा धेरै आयात एटो टुको भएको छ । कम्पनीले नेपाल आएको छोटो समयमा नै १ हजार ७२ युनिट आयात गरेको छ । त्यसपछि एटो वान ८३० युनिट आएको छ । साथै, एटो थ्री ६३६, डल्फिन ५३५, सिलायन सेभेन २७१ युनिट र एम सिक्स १४१ युनिट आयात भएको देखिन्छ । यसरी हेर्दा २०२५ मा ३ हजार ४८५ युनिट बिक्री भएको देखिन्छ ।
मोडल अनुसारको बिक्री
सन् २०२१ देखि २०२५ अन्तिमसम्ममा ई सिक्स र एम सिक्स मोडल मिलाएर ५१९ युनिट बिक्री गरेको देखिन्छ ।
सन् २०२२ मा आएको एटो थ्री एसयूभी कम्पनीको सबैभन्दा धेरै बिक्री भएको मोडल हो । सन् २०२२ बाट नेपालमा बिक्री सुरू भएको एटो थ्री अहिलेसम्म ४ हजार २४६ युनिट बिक्री भएको छ ।

ह्याचब्याक सेग्मेन्टलाई नै उथलपुथल बनाउने डल्फिन सफल मोडल हो । सन् २०२३ बाट बिक्री सुरू भएको डल्फिन अहिलेसम्म २ हजार ४४१ आयात भएको छ ।
बीवाइडीको सिल स्पोर्टी सेडान निकै कम आएको छ । अहिलेसम्म सिल कार ५ युनिट मात्रै आयात भएको छ ।
यस वर्ष ३ नयाँ मोडल ल्याएको कम्पनीको तीन वटै मोडल सफल भएका छन् । कम्पनीले सिलायन सेभेन एसयूभी २७१ युनिट आयात भएको छ ।
एटो वानको आयात ८३० युनिट हुँदा एटो टु १ हजार ७२ युनिट आयात भएको छ ।

