बीवाइडी यूवान सिरिजको बिक्री १० लाख पुरा

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल जाइन्ट बीवाइडीले आफ्नो युवान सिरिजको उत्पादन र बिक्रीमा १० लाख यूनिटको कोशेढुङ्गा पार गरेको छ । कम्पनीले  हिजो (बुधबार) युवान सिरिजको बिक्री १० लाख पुरा भएको घोषणा गरेको हो ।

चिनियाँ न्यू इनर्जी भेहिकल जायन्ट बीवाइडीले यसअघि सोङ र क्विन फेमेलीको पनि १० लाख यूनिट बिक्री पार गरेको घोषणा गरेको थियो । बीवाइडीको युवान फेमेलीमा युवान अप, युवान प्लस र युवान प्रो जस्ता मोडल छन् । नेपाल लगायतका अन्तर्राष्ट्रिय बजारमा बिक्री हुँदै आएको एटो-थ्री पनि युवान सिरिजकै मोडल हो ।

बीवाइडीले पछिल्लो मोडल युवान अप गत मार्चमा मात्रै लन्च गरेको थियो । चिनियाँ बजारमा ३ भेरियन्टमा युवान अप बिक्री भइरहेको छ । यो मोडल अन्तर्राष्ट्रिय बजारमा एटो-२ को नामले बिक्री हुने सम्भावना छ ।

यो फेमेलीको सबैभन्दा चर्चित मोडल युवान प्लस सन् २०२२ को फेब्रुअरीबाट बिक्री सुरु भएको थियो । बीवाइडीको अल इलेक्टीक ई प्ल्याटफर्म ३.० मा बनेको यही क्रसओभर एसयूभीलाई अन्तर्राष्ट्रिय बजारमा एटो-३ भनिन्छ ।

यसै बर्षको मार्च ४ मा बीवाइडीले युवान प्लसको ग्लोरी एडिसन पनि लन्च गरेको थियो । स्थानीय बजारमा यो मोडल ४ विभिन्न भेरियन्टमा बिक्री भइरहेको छ ।

बीवाइडीको युवान फेमेलीको सबैभन्दा पुरानो मोडल युवान प्रो पनि ३ वटा भेरियन्टमा बिक्री भइरहेको छ ।

गत वर्ष युवान फेमेलीको बेष्ट सेलीङ मोडल युवान प्लस ४ लाख २८ हजार ५८० युनीट बिक्री भएको थियो । यो संख्या बीवाइडीको कुल बिक्रीको १४.१७ प्रतिशत हो ।

यस वर्षको जनवरीदेखि मे सम्मको ५ महिनामा युवान फेमेलीका मोडलहरु १ लाख ३४ हजार ३९२ युनीट बिक्री भइसकेका छन् । जुन बीवाइडीको ५ महिनाको कुल बिक्रीको १०.५७ प्रतिशत हो ।


Back_to_top