काठमाडौं । यूरोप र चीनबीच अटोमोवाइल वार सुरु भएको छ । यूरोपियन यूनियनले चिनियाँ सरकारले विद्युतीय कार निर्माताहरुलाई अधिक अनुदान दिएर उत्पादन गरेको भन्दै आपत्ति जनाउँदै आएको थियो ।
करिब एक वर्षसम्म चिनियाँ इलेक्ट्रीक कारको अधिक अनुदानका विषयमा अध्ययन र अनुषन्धान गरेको इयूले अन्तिममा कर वृद्धि गर्ने निर्णय लिएको थियो । अघिल्लो साता ईयूले अधिकतम १७ देखि ३८ प्रतिशतसम्म कर वृद्धि गर्ने निर्णय लिएको थियो ।
ईयूले चिनियाँ सरकारी लगानीका कम्पनीले उत्पादन गर्ने ईभीमा धेरैमा ३८ प्रतिशत र निजी क्षेत्रले उत्पादन गर्ने ईभीमा १७ देखि २१ प्रतिशतसम्म कर लगाउने निर्णय लिएको हो । त्यसको विरोधमा चिनियाँ कार निर्माताहरुले यूरोपियन कारमा २५ प्रतिशतसम्म कर लगाउन प्रस्ताव गरेका हुन् ।
अघिल्लो वर्ष २ लाख ५० हजार यूनिट पेट्रोलियम पदार्थबाट चल्ने कारहरु यूरोपबाट चीनमा आयात भएको भन्दै कार उत्पादकहरुले सरकारसँग कर वृद्धि गर्न सुझाव दिएको हो । उनिहरुले २.५ लिटर माथिका इन्जिन भएका कारमा कर वृद्धि गर्न सुझाव दिएका हुन् ।