काठमाडौं । नेपालमा चिनियाँ प्रिमियम ब्राण्डको विद्युतीय कार ब्राण्ड बढ्दै गएको छ । बीवाइडी र एमजीबाट सुरु भएको चिनियाँ ब्राण्डको यात्रा एक्सपेङदेखि जिकरसम्म पुगेको हो ।
पछिल्लो पटक नेपाल आउने विषयमा चर्चा भइरहेका अवतार, जिकर र एक्सपेङ प्रिमियम ब्राण्ड हुन् । यी ब्राण्डका एसयूभीहरु नाडा अटो शो २०२४ बाट बिक्री सुरु हुँदैछन् ।
यस्तोमा हामीले अटो शोमा आउन लागेका तीन वटै ब्राण्डका नयाँ मोडलमा के कस्ता फिचर छन् भन्ने विषयमा यहाँ चर्चा गर्न खोजेका छौं ।
पहिला कुरा गरौं आयातकर्ता कम्पनीबाट
एक्सपेङ ब्राण्डलाई सीजी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाल ल्याएको हो । थुप्रै विद्युतीय गाडीको डिलर लिएर काम सुरु गरेको सिजीले एक्सपेङको डिलर सिप लिएको ३/४ महिना भइसकेको छ ।
जिकरको डिलर सारडा ग्रुप अन्तर्गतको पायोनियर मोटोकर्प नियुक्त भएको छ । कम्पनीले भर्खरै मात्र डिलरसिप नियुक्त भएको हो । यसअघि निसान, ओमोडा जस्ता ब्राण्ड बिक्री गर्दै आएको सारडा ग्रुप अन्तर्गतको जिकर पनि नाडा अटो शोबाट बिक्री सुरु हुनेछ ।
अवतार ब्राण्ड दुई ब्यवसायीक समूह मिलेर नेपाल ल्याउन लागेका हुन् । यसलाई एमएडब्लू ग्रुप र सिजी मोटर्स मिलेर ल्याउने छन् । अवतारका कार पनि अटो शोबाटै बिक्री सुरु हुनेछ ।
कुन कुन मोडल आउँछन् ?
अटो शोमा जिकरको एक्स मोडल लन्च हुनेछ । एक्सपेङले जी-सिक्स मोडल लन्च गर्दा अवतारले वानवान मोडल आउने छ ।
त्यसमध्ये जिकर एक्स एउटा कम्प्याक्ट मिडसाइज डिजाइनमा तयार भएको क्रसओभर मोडल हो । त्यस्तै एक्सपेङको जी-सिक्स मिडसाइज कुपे क्रसओभर र अवतार वानवान मिडसाइज क्रसओभर एसयूभी हुन् ।
साइजमा कुन कत्रो ?
साइजमा सबैभन्दा ठूलो अवतार वानवान मोडल हो । यसको लम्बाई ४८८० एमएम, चौडाई १९७० एमएम, उचाई १६०१ एमएम छ । यसमा ह्वीलबेस २९७५ एमएम पाउन सकिन्छ । यो इभीको ग्राउण्ड क्लियरेन्स १३६ एमएमको रहेको छ ।
त्यसैगरी एक्सपेङ जी-सिक्सको लम्बाई ४७५३ एमएम, चौडाई १९२० एमएम र उचाई १६५० एमएम छ । यसमा २८९० एमएम लामो ह्वीलवेस छ । यो इभीको ग्राउण्ड क्लियरेन्स १६० एमएमको रहेको छ ।
जिकर एक्सको लम्बाई ४४५० एमएम, चौडाई १८३६ एमएम, उचाई १५७२ एमएम छ । गाडीको लम्बाईको तुलनामा यसको ह्वीलवेस लामै छ । यसमा २७५० एमएम लामो ह्वीलवेस रहेको छ । यो इभीको ग्राउण्ड क्लियरेन्स १७५ एमएमको रहेको छ ।
मोटर पावरमा को अगाडि ?
एक्सपेङको जी-सिक्स मोडल रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ अप्सनमा चीनमा उपलब्ध छ । सायद सुरुमा रियर ह्वील ड्राइभ मोटर जडान भएको मोडल नेपाल आउने छ । यसको रियर ह्वील ड्राइभमा २१८ किलोवाटको मोटर र अलह्वील ड्राइभमा ३५८ किलोवाटको डिउल मोटर सेटअप रहेको छ ।
चीनमा जिकर एक्स पनि दुई फरक ड्राइभिङ सिस्टममा उपलब्ध छ । रियर ह्वील ड्राइभ सिंगल मोटर र अल ह्वील डज्ञाइभ ड्यूल मोटरमा यसलाई कम्पनीले उपलब्ध गराएको छ । सम्भवत सुरुमा रियर ह्वील ड्राइभ सिस्टमको एक्स मोडल नेपाल आउने छ । यसको सिंगल मोटरमा २०० किलोवाट र ड्यूल मोटर ३१५ किलोवाट पीकपावर हुन्छ ।
चांगानको अवतार वानवानमा २३० किलोवाटको रियर ह्वील ड्राइभ मोटर पाउन सकिन्छ ।
ब्याट्री साइजमा कति फरक
नेपाल आउने अवतार वानवान मोडलमा ९०.३८ किलोवाट आवरको ब्याट्री रहने छ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५५५ किलोमिटर चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।
एक्सपेङ रियर ह्वील ड्राइभ मोडलमा ६६ किलोवाट अवारको लिथियम आयोन ब्याट्री छ । तर, अलह्वील ड्राइभ मोडलमा भने ८७.५ किलोवाट अवार ब्याट्री पाउन सकिन्छ । यसले सिंगल चार्जमा ब्याट्री साइज अनुसार ४०० र ५०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
जिकर एक्स मोडलमा ६९ किलोवाट आवरको निकेल कोबाल्ट मैंगजिन ब्याट्री प्याक छ । यसलाई फुल चार्जमा अलह्वील ड्राइभ मोडलको ४०० किलोमिटर र रियर ह्वील ड्राइभ मोडलको ४४० किलोमिटर रेन्ज रहने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
क्लष्टर र इन्फोटेन्टमेन्ट सिस्टमको साइज
जिकर एक्समा १४.६ इन्चको सेन्टर कन्ट्रोल स्कृन, ८.८ इन्चको इन्ट्रुमेन्ट क्लस्टर र ५.७ इन्चको रियर क्लाइमेट सेटिङ टचस्कृन रहेको छ । यसमा चालकको सहजताका लागि हेडअप डिस्प्ले प्रयोग गरिएको छ ।
एक्सपेङ जी६ मा १५ इन्चको सेन्टर कन्ट्रोल स्कृन, १०.२ इन्चको इन्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसमा रियर स्कृन तथा हेडअप डिस्प्ले छैन ।
अवतार वान वानको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको इन्फोटेन्मेन्ट स्क्रीन र पछाडि बस्ने यात्रुको लागि छुट्टै १०.२५ इन्चको डिस्प्ले पाउन सकिन्छ ।
सुरक्षा फिचर
यी तीन वटै मोडलमा आधुनिक सुरक्षा फिचरको रुपमा लिइने एडाससहितका फिचर छन् । सेन्सर, ३६० डिग्री क्यामेरा, एयरब्यागको भरपुर प्रयोग सबै मोडलमा छन् । आरामदायी सिट, हाइटेक प्रविधिहरु यी तीनवटै क्रसओभर एसयूभीमा पाउन सकिन्छ ।