बीवाइडी एटो थ्रीमा अब फ्ल्यास चार्जिङ, साइज र रेन्ज पनि बढ्यो

काठमाडौं । बीवाइडी एटो थ्री (युआन प्लस)ले अब फ्ल्यास चार्जिङ सपोर्ट गर्ने भएको छ । चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय मार्फत पहिलो पटक यस्तो जानकारी बाहिर आएको हो ।

नयाँ एटो थ्रीको ब्याट्री प्रविधि, चार्जिङ क्षमता र गाडीको आकारमा ठूलो सुधार गरिएको छ । चीन सरकारले एटो थ्रीलाई कर छुट सूचीमा समेत समावेश गरेको छ ।

सार्वजनिक जानकारी अनुसार नयाँ मोडलमा ५७.५४ किलोवाट आवर वा ६८.५५ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध हुनेछ । जसले एकपटकको फूल चार्जमा क्रमशः ५४० किमी र ६३० किमी सीएलटीसी रेन्ज दिनेछ । नयाँ एटो थ्री २०० किलोवाट र २४० किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध हुनेछ।

नयाँ एटो थ्रीमा रियर ह्वील ड्राइभ प्लेटफर्म, दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ सुविधा प्रयोग गरिएको छ । दोस्रो पुस्ताको ब्लेड ब्याट्री प्रविधिले गर्दा यसको चार्जिङ क्षमता निकै प्रभावशाली छ ।

फ्ल्यास चार्जिङ प्रविधिका कारण यो गाडी मात्र ५ मिनेटमा १० प्रतिशतबाट ७० प्रतिशतसम्म चार्ज हुन सक्छ भने ९ मिनेटमा १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज हुन सक्छ । माइनस ३० डिग्री सेल्सियसमा पनि यसको चार्जिङ समय सामान्यभन्दा ३ मिनेट मात्र बढी लाग्नेछ ।

यसमा बीवाइडीको डाइनास्टी डिजाइन शैलीलाई नै निरन्तरता दिइएको छ । यसको अगाडिको भागमा चाँदी जस्तै चमक भएको ग्रिल र पातला आकर्षक हेडलाइटहरू छन्। बम्परको दुवै छेउमा हावा छिर्ने भेन्टहरू र बीचमा कुलिङ ग्रिल राखिएको छ । गाडीको पछाडिको भागमा दुई खण्डमा बाँडिएको ब्रेक लाइट र वाइपर रहेको छ । यसको टेललाइटहरू एकै ठाउँमा जोडिएर वारपार देखिने गरी बनाइएको छ, जसले गर्दा गाडी निकै आधुनिक देखिन्छ।

नयाँ एटो थ्रीको लम्बाइ ४६६५ एमएम, चौडाइ १८९५ एमएम र उचाइ १६७५ एमएम छ । यसमा २७७० एमएमको ह्वीलबेस रहेको छ । यो हालको एटो थ्रीभन्दा निकै ठूलो हो ।

यसमा १८ वा १९ इन्चका ह्वील, सेमि हिडन डोर ह्याण्डलहरू र ग्राहकको चाहना अनुसार रङ छान्न मिल्ने डी पिलर प्यानलहरू रहेका छन्।

एटो थ्री नेपालमा पनि निकै चर्चित मोडल हो । बीवाइडीका गाडी साइमेक्स इंकले बिक्री गर्दै आएको छ ।


Back_to_top