नेपालमै कार एसेम्बल गर्नु पर्ने नीति लिँदै सरकार

काठमाडौं । सरकारले १५० सीसी माथिका मोटरसाइकलमा आयात प्रतिबन्ध लगाएको भएपनि नेपालमै एसेम्बल गर्ने हकमा कुनै पनि क्षमताको मोटरसाइकल रोकिएको छैन ।

अहिले नेपालमा बजाजले आफ्ना सबै मोडलका मोटरसाइकल एसेम्बल गर्दै आएको छ भने टीभीएसले पनि एसेम्बल सुरू गरेको छ । यी एसेम्बल गर्ने ब्राण्डको हकमा अहिले लगाइएको प्रतिबन्धले असर गरेको छैन ।

मोटरसाइकल आयातमा प्रतिबन्ध लगाएसँगै अन्य ब्राण्ड यामाहा र सुजुकीले तीव्र गतिमा एसेम्बल यूनिट स्थापनाका लागि काम गरिरहेका छन् । दुवैै ब्राण्डले छिट्टै परीक्षण उत्पादन सुरू गर्ने तयारी गरिरहेका छन् । यामाहा र सुजुकी दुवै जापानीज ब्राण्ड हुन् ।

यी बाहेक होन्डा, हिरो, अप्रिलिया लगायतका ब्राण्ड नेपालमै एसेम्बल यूनिट लगाउन लागि परेका छन् । छोटो समयमा नै मोटरसाइकल एसेम्बलका लहर नै चलेको देखेपछि अर्थमन्त्री, उद्योगमन्त्री र प्रधानमन्त्रीले नेपालमै गाडी एसेम्बलको अवसर अहिलेको आयात प्रतिबन्धलाई लिन सकिने बुझेको स्रोतको दाबी छ ।

‘यदि केही कडाइ गरियो भने नेपालमै उत्पादन गर्न सकिन्छ, भनेर व्यवसायीले काम गर्ने देखियो । नत्र ५५ वर्षदेखि आयात सुरू भएको देशमा अहिलेसम्म एउटा पनि एसेम्बल यूनिट किन खुलेन भनेर घनिभूत छलफल भएको छ । त्यही छलफलले एसेम्बल उद्योगमा प्रवेशको बाटो खोल्न आयातमा कडाइ गर्ने नीति लिएको हो’, अर्थमन्त्रालय स्रोतले मेरोअटोसँग भन्यो ।

पछिल्ला दिनमा अर्थमन्त्री र उद्योगमन्त्रीले नेपालमै विद्युतीय गाडी बनाउने विषयलाई जोडतोडले उठाएका छन् । उसोत यो विषय प्रधानमन्त्री शेरबहादुर देउवाले पनि व्यवसायीहरूलाई भन्दै आएका छन् ।

केही दिनअघि नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुव थापा लगायतको टिमसँग प्रधानमन्त्रीले नेपालमै विद्युतीय गाडी उत्पादन थाल्न आग्रह गरेका थिए ।

प्रधानमन्त्रीले नेपालमै गाडी उत्पादन गर्न के कस्तो सहयोग र सुविधा चाहिन्छ त्यो लिखित रूपमा ल्याउन नाडा अध्यक्ष थापालाई आग्रह गरेका थिए ।

दबाबमा सरकार र व्यवसायी

दातृ निकायले नेपाल सरकारले आयात प्रतिबन्ध लगाएको विषयमा गम्भीर आपत्ति जनाएका छन् । वर्ल्ड बैंक, आइएमएफ र एशियाली विकास बैंकहरूले तत्काल आयात खुलाउन सरकारलाई दबाब दिएका छन् ।

यी संस्थाहरूले आयात प्रतिबन्ध लगाउन नहुने बरू देशमा यसको उपभोग कसरी घटाउन सकिन्छ भन्ने विषयमा सोच्न अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकलाई भनेका छन् । साथै, आयात खुल्ला नभएसम्म सहयोग बापत आउने रकमसमेत रोक्का राख्ने निर्णय दाताहरूले गरिसकेका छन् । जसले आयात खोल्नै पर्ने दबाबमा सरकार परेको छ ।

सरकारसँगै व्यवसायीहरू आफ्नो व्यवसाय बचाउने दबाबमा छन् । सरकारले सोचे जस्तो धेरै ब्राण्ड नेपालमा गाडी उत्पादन वा एसेम्बल गर्न सक्ने अवस्थामा छैनन् ।

नाडाका अध्यक्ष थापा भन्छन्, ‘गाडी एसेम्बल गर्न पहिलो कुरा भोलुम चाहिन्छ । वार्षिक २/४ सय गाडी बेच्ने ब्राण्डले एसेम्बल यूनिट लगाउनै सक्दैनन् । उनिहरूले गर्ने रोजगारी सृजना, राजस्वमा सहयोग, सर्भिस उद्योग संचालन गर्दै आएका छन् । त्यसलाई नहेरी एसेम्बल गर्नै पर्ने नीति बन्छ जस्तो लाग्दैन ।’

एकै पटक एसेम्बललाई मात्रै ठाउँ दिने व्यवस्था संसारको कुनै पनि देशमा छैन । भारतले पनि २५ सयदेखि ४५ सय यूनिटसम्म तयारी गाडी अन्य देशबाट ल्याएर बेच्न पाउने नीति लिएको छ । त्यसलाई नेपालले पनि अनुसरण गर्दै निश्चित कोटा तोकेर लागू गर्न सक्छ । त्यसको लागि विज्ञहरूको टीम प्रयोग गर्न सकिन्छ ।

अहिलेको आयात प्रतिबन्ध जे जस्तो कारणले भएको भए पनि तत्कालको लागि धेरै ब्राण्डले शोरुम बन्द गरेर बस्नु पर्ने अवस्था आएको छ ।


Back_to_top