ईभीमा लाग्ने टायर किन छुट्टै ? यस्ता छन् कारण

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा १ हजार ८ सयभन्दा बढी इलेक्ट्रीक कारको विक्री भयो । त्यस्तै इलेक्ट्रीक साइकल, स्कुटर र मोटरसाइकलको आयात पनि निकै बढेको छ ।

अझ साझा यातायातले विद्युतीय बस ल्याएर चलाउन थालेसँगै यसअघि सुन्दर यातायातले मात्रै चलाउँदै आएको विद्युतीय बसको कोटा थप भएको छ । साथै, काठमाडौं एयरपोर्टदेखि लुम्बिनीसम्म पनि विद्युतीय बस चल्न थालेको छ ।

विद्युतीय सवारीसाधनको प्रयोग बढेसँगै यस्ता साधनमा प्रयोग हुने कम्पोनेन्ट पनि आउन थालेका छन् । विद्युतीय कार र विद्युतीय ठूला साधनमा प्रयोग हुने पार्टस् पनि विशेष किसिमले उत्पादन गर्ने गरिन्छ ।

विद्युतीय साधनको लागि टायर विशेष किसिमले तयार गरिएको हुन्छ । अहिले चल्तीका ब्राण्डले धमाधम ईभी स्पेसिफीकेशन अनुसारको टायर बनाउने घोषणा गर्न थालेका छन् । यही क्रममा भारतको ठूलो टायर निर्माता सियाटले नयाँ टायर सार्वजनिक गरेको छ ।

‘ग्रिन ड्राइभ ईभी’ नामबाट सियाटले इलेक्ट्रीक कारमा लाग्ने टायर बजारमा ल्याएको हो । यो टायर एसटीसी ग्रुपले चाँडै नेपाल ल्याउने तयारी गरेको छ ।

ईभीमा लाग्ने टायर किन फरक ?

सैदान्तिक रुपमा भन्दा विद्युतीय गाडीमा प्रयोग हुने टायर ‘अल्ट्रा लो–रेसिस्टेन्स’मा आधारित हुन्छ । सुख्खा र भिजेको बाटोमा ट्रयाक्सन क्षमता वृद्धि गर्नेखालको टायर ईभीमा चाहिन्छ । त्यसपछि अर्को महत्वपूर्ण कुरा ईभीमा लगाइने टायर आवाज रहित हुने गर्छ ।

विशेषत विद्युतीय गाडी बनाउँदा नै धेरै रेन्ज कसरी प्रदान गर्न सकिन्छ भनेर खोज भएको हुन्छ । आई इन्जिन भएका गाडीको तुलनामा कारको तौल ३०० केजी र बसको तौल ५०० केजी जति बढी हुन्छ । त्यसैले यो तौल भारबहन गर्न पनि ईभीको टायर बलियो हुनुपर्छ ।

त्यसैले ईभीमा प्रयोग हुने टायर निर्माता कम्पनीले टायरको साइडवाल एकदमै बलियो बनाउनु पर्ने हुन्छ । अन्यथा साइडवाल कमजोर भएको खण्डमा तौलको कारण टायर पड्कने सम्भावना हुन्छ ।


Back_to_top