विद्युतीय कारको बजार हिस्सा १२%, यी हुन् धेरै विक्री गर्ने १० ब्राण्ड

काठमाडौं । विश्वभर विद्युतीय कारको विक्री तिब्र गतिमा बढिरहेको छ । विशेषत पेट्रोलियम पदार्थको खपत कटौती गर्न विश्वभर बहस र छलफल चलिरहेको समयमा विद्युतीय कारको विक्री तिब्र गतिमा बढिरहेको हो ।

सन् २०२२, जुन महिनासम्ममा विश्वभर रहेका विद्युतीय कार उत्पादकले पूर्ण ब्याट्री इलेक्ट्रीक भेहिकल ३० लाख ५० हजार यूनिट र प्लगइन हाइब्रिड ईभी ११ लाख ११ हजार यूनिट विक्री गरेको अनुमानित तथ्यांक सार्वजनिक भएको छ । यी दुबैलाई ईभीको समूहमा राखिने भएकोले विगत छ महिनामा ४१ लाख ६१ हजार १२३ यूनिट विद्युतीय गाडी विक्री भएको हो । यो विक्रीलाई बजार हिस्सामा हेर्दा करिब १२ प्रतिशत हाराहारी हुन्छ ।

यी हुन् धेरै बेच्ने टप १० ब्राण्ड

अहिलेसम्मको विक्री तथ्यांक हेर्दा टेस्ला, बीवाइडी, एसएआईसी/विलिङ, फक्सवागेन, बीएमडब्लू, मर्सिडिज, हुन्डाई, किया, चेरी जस्ता ब्राण्डले ठूलो संख्यामा विद्युतीय गाडी उत्पादन र विक्री वितरण गर्दै आएका छन् ।

सन् २०२२ को छ महिनाको विक्रीलाई आधार मान्दा बीवाइडी पहिलो स्थानमा रहेको छ । कम्पनीले ६ लाख ४० हजार ७४८ यूनिट विद्युतीय गाडी विक्री गरेको छ । कम्पनीको विक्रीमा पूर्ण इलेक्ट्रीक र प्लगइन हाइब्रिड दुबै छन् ।

दोस्रो स्थानमा टेस्ला रहेको छ । टेस्लाले सबै ब्याट्रीबाट चल्ने कार उत्पादन गर्दै आएको छ । कम्पनीले यो छ महिनामा ५ लाख ६४ हजार ८७३ यूनिट कार विक्री गरेको छ ।

 

सूचीको तेस्रो स्थानमा २ लाख ३३ हजार यूनिट विक्रीसहित एसएआईसी-जीएम-विलिङ कम्पनी परेको छ । चौथो स्थानमा रहेको फक्सवागेनले १ लाख ५८ हजार ५७ यूनिट, पाँचौं स्थानमा रहेको बीएमडब्लूले १ लाख ५७ हजार ५ यूनिट ईभी उत्पादन र विक्री वितरण गरेका छन् ।

त्यसैगरी धेरै इलेक्ट्रीक गाडी विक्री गर्ने सूचीको छैटौ, सातौ र आठौं स्थानमा क्रमशः मर्सिडिज, एसएआईसी र किया परेका छन् । मर्सिडिजको विक्री १ लाख २६ हजार ४१४ यूनिट, एसएआईसी (एमजी) को विक्री १ लाख २४ हजार ५०० यूनिट र कियाको विक्री १ लाख १३ हजार ५८५ यूनिट रहेको छ ।

सूचीको नवौं स्थानमा चिनियाँ ब्राण्ड चेरी र दशौं स्थानमा कोरियन ब्राण्ड हुन्डाई रहेका छन् । यी दुबै ब्राण्डको विक्री क्रमशः १ लाख १२ हजार ३१ र १ लाख ६ हजार ५१८ यूनिट रहेको छ ।


Back_to_top