काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिना (साउन-मंसिर)सम्म साढे ६ हजार युनिट बढी कार आयात भएको छ ।
भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार मंसिर मसान्तसम्म कुल ६ हजार ६०१ युनिट कार, जीप, भ्यान आयात भएको हो । यो विद्युतीय र पेट्रोल कार दुवैको संख्या हो ।
गत आवको ५ महिनाको तुलनामा चालु आवमा समग्र कार आयात १.६४ प्रतिशत अर्थात् १०७ युनिटले वृद्धि भएको छ । गत वर्ष मंसिरसम्म कुल ६ हजार ४९४ युनिट कार आयात भएको थियो ।
चालु आवमा कुल ११ अर्ब ६० करोड रुपैयाँ बराबरको कार आयात भएको हो । यसबाट सरकारले ११ अर्ब ५३ करोड रुपैयाँ राजस्व पाएको छ ।
ईभी आयात घट्यो
चालु आवमा समग्रमा कार आयात बढ्दा विद्युतीय कार आयातमा भने २३.५५ प्रतिशत गिरावट आएको छ । गत वर्ष ५ महिनामा ४ हजार ६९५ युनिट ईभी कार आयात भएकोमा चालु वर्ष ३८०० युनिटमा सीमित भएको छ ।
चालु आवमा कुल ८ अर्ब ९५ करोडको ईभी कार भित्रिएका छन् । जसबाट सरकारले ५ अर्ब ६४ करोड रुपैयाँ राजस्व पाएको छ ।
चालु आवको बजेट अघि कर बढ्ने हल्लाले व्यवसायीले झण्डै ६ हजार ईभी आयात गरेको थिए । ती कार अझै बिक्री भइनसकेकाले आयातमा प्रभाव परेको हो ।
चालु आवमा ५० किलोवाटसम्मका १२१५ युनिट, ५१ देखि १०० किलोवाटसम्मका २१६४, १०१ किलोवाटदेखि २०० किलोवाटसम्मका ४१४ र २०१ किलोवाट माटिथका ५ युनिट ईभी भित्रिएक छन् । त्यस्तै, ५० किलोवाटसम्मका दुई युनिट अनएसेम्बल विद्युतीय कार आयात भएको छ ।
पेट्रोल कार आयातमा उछाल
चालु वर्षमा ईभी कार आयात घट्दा पेट्रोल कारमा भने उछाल आएको छ । ५ महिनाको अवधिमा २ हजार ८०१ युनिट पेट्रोल कार आयात भएको छ ।
यो गत वर्ष सोही अवधिको तुलनामा ५०.६८ प्रतिशत धेरै हो । गत वर्ष मंसिरसम्म कुल १ हजार ७९९ युनिट पेट्रोल कार आयात भएको थियो ।
बजारमा आइस कारको माग बढेसँगै आयात पनि बढेको हो । साथै, ईभी आयात प्रभावित हुँदा पनि कम्बस्चनको आयात बढ्न केही सहयोग पुगेको हो ।
पेट्रोल कार आयातमा हुन्डाईको वर्चश्व रहेको छ । ५ महिनामा कुल २८०१ युनिट पेट्रोल कार आयात हुँदा १३४१ युनिट अनएसेम्बल कार रहेको विभागको तथ्यांक छ ।
नेपालमा हाल हुन्डाईले मात्रै चारपाँग्रे सवारी एसेम्बल गर्ने भएकाले यो सबै कार उसकै हो । हुन्डाईले नेपालमा क्रेटा र भेन्यू उत्पादन गर्दै आएको छ ।

