काठमाडौं । जापानी अटोमोबाइल निर्माता टोयोटाको सफल पीकअप हाइलक्सको नयाँ जेनेरेशन मोडलले विश्वका सबै एनक्यापले गरेको क्र्यास टेस्टमा फाइभ स्टार रेटिङ पाउन सफल भएको छ ।
पछिल्लो पटक अष्ट्रेलियामा हुने एएनक्यापमा पनि हाइलक्सको नयाँ जेनेरेशन मोडलले फाइभ स्टार रेटिङ पाएको हो । नेपाली बजारमा उपलब्ध हाइलक्स पनि अष्ट्रेलियामा बिक्री हुने स्पेक नै हो । नेपाल र अष्ट्रेलिया दुबै राइट ह्याण्ड ड्राइभ भएका देश हुन् ।
नयाँ हाइलक्समा फ्रन्ट, नि र साइड एयरब्यागको प्रयोग गरिएको छ । यसका अलवा अटोनोमस इमर्जेन्सी ब्रेकिङ (एईबी), लेन सपोर्ट सिस्टम, लेन डिपार्चर वार्निङ, इमर्जेन्सी लेन किपिङ र एड्भान्स स्पीड एसिस्टेन्स सिस्टम दिइएको छ । यसकै सहायताले यसले अष्ट्रेलियन एनक्यापमा फाइभ स्टार रेटिङ पाउन सफल भएको हो ।
हाइलक्स पीकअपले बयस्क यात्रु र चालकको सुरक्षामा ४० मा ३३.९६ अंक पाएको थियो । जुन ८४ प्रतिशत हो । परीक्षणमा हाइलक्समा अगाडि बस्ने यात्रु र चालकको बडीमा कुनै किसिमको चोट लाग्न दिएको थिएन । साथै, साइड इम्प्याक्टमा पनि दुबै सुरक्षीत थिए ।

वयस्क यात्रुभन्दा पनि पछाडि बस्ने चाइल्डको सुरक्षामा हाइलक्स अब्बल देखिएको छ । अष्ट्रेलियन एनक्यापको परीक्षणमा चाइल्ड सुरक्षामा हाइलक्सले ८९ प्रतिशत अंक पाएको थियो । चाइल्ड सुरक्षामा ४९ पूर्णाङकमा ४४ अंक पाएको हो ।
पैदल यात्रुको सुरक्षामा पनि हाइलक्स अब्बल देखियो । ६३ पूर्णाङ्कमा ५२.१६ अंक प्राप्त गर्दै ८२ प्रतिशत ल्याउन सफल भएको हो । कारमा भएको सेफ्टी एसिस्टेन्सहरूको पर्फमेन्स पनि ८२ प्रतिशत अंक ल्याउन सफल भएको थियो ।

