काठमाडौं । फक्सवागेनले चीनमा नयाँ एसयूभी ‘आइडी युनिक्स-०८’ ल्याउने भएको छ । जर्मन कार निर्माताले चीनमा उत्पादन गर्न लागेको आइडी युनिक्स फुल साइज एसयूभीको रूपमा बजारमा आउने भएको हो ।
कम्पनीका अनुसार नयाँ एसयूभीको लम्बाइ ५ मिटर हुनेछ । यसको चौडाइ झण्डै दुई मिटर (१९५४ एमएम) र उचाइ १६७२ एमएम हुनेछ । लग्जरी सेग्मेन्टमा आउने आइडी युनिक्समा ह्वीलबेस भने ३०३० एमएम लामो रहने छ ।
फक्सवागेनले आफ्नो फुल साइज एसयूभीमा दुई ब्याट्री अप्सन प्रदान गर्नेछ । जसको स्टायण्डर्ड मोडलमा ८२.३६ र लङ रेन्ज मोडलमा ९५ किलोवाट आवरको हुनेछ । जसको रेन्ज भेरियन्ट अनुसार ६३० किलोमिटरदेखि ७३० किलोमिटरसम्म रहने छ ।
कम्पनीले ८०० भोल्ट अल्ट्रा-फास्ट चार्जिङ सपोर्ट गर्ने आर्किटेक्चरमा तयार पारेको एसयूभीमा ‘लेभल टु प्लस प्लस’ एड्भान्स ड्राइभर एसिस्टेन्स सिस्टम (एडास) रहनेछ ।
निकै आक्रमक फ्रन्ट डिजाइनमा देखिएको आइडी युनिक्स-०८ मोडलमा युनिट लाइटको प्रयोग भएको छ । अगाडि क्लोजअफ ग्रिल, सबै लाइट एलइडी तल्लो बम्परसँगै दिइएको एयरड्यामले एसयूभीलाई निकै स्मार्ट लुक प्रदान गरेको छ । निकै राम्रो ‘एज’ प्रयोग भएको बोनेटको बीचमा दिइएको फक्सवागेनको लोगो पनि उत्कृष्ट लाग्छ ।

आइडी युनिक्स-०८ लाई कम्पनीले २३० किलोवाटको इलेक्ट्रीक मोटरमा उपलब्ध गराउने छ । कम्पनीले ‘पार्किङ टु पार्किङ’ फङ्गसन उपलब्ध गराउने एसयूभीमा धेरै भाषा बुझ्न सक्ने ‘एआई इन्टेलिजेन्ट एसिस्टेन्ट’ दिएको छ ।
फक्सवागेन चाइनाले अहिलेसम्म यसको मूल्य भने घोषणा गरेको छैन । अहिले यसलाई बिक्री थाल्ने लाइसेन्स प्रक्रियामा रहेको बताइन्छ । यसको इन्टेरियर फिचरको बारेमा पनि धेरै कुरा बाहिर आउनै बाँकी छ ।


