काठमाडौं । विभिन्न कम्पनीले नयाँ वर्ष २०८१ को अवसर पारेर गाडीहरुमा स्कीम दिइरहेका छन् । कम्पनीहरुले छुट स्कीम दिएर ग्राहक तान्न राम्रै प्रतिस्पर्धा गरिरहेका हुन् ।
विशेषगरी, २५ लाखभन्दा कम मूल्यमा थुप्रै मोडल खरिद गर्न सकिने अवस्था छ । हेनरी, एमजी कोमेट, विलिङ एयर, टाटा टियागो, रेनो क्वीड, रेनो ट्राइबर जस्ता मोडलमा स्पेशल अफर ग्राहकले पाउने छन् ।
चिनियाँ ब्राण्ड हेनरीको मिनिकार यसअघि २३ लाख ५० हजार मूल्य तोकेर बिक्री गरेको थियो । तर, कम्पनी नयाँ वर्षको अवसर पारेर २० लाखसम्ममा बिक्री गरिरहेको छ ।
रेनोले क्वीडमा सबैभन्दा धेरै छुट स्कीम दिएछ । कम्पनीले यसअघि २६ लाख ७९ हजार मूल्य तोकेर बिक्री गर्दै आएको क्वीड नयाँ वर्षको स्कीममा १८ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराएको छ । कम्पनीले ट्राइबरमा पनि झण्डै ८ लाख रुपैयाँ छुट दिएको हो ।
रेनोले दिएको छुटलाई अधिकतम खुद्रा मूल्यको आधारमा अटोमोवाइल क्षेत्रमा दिइएको अहिलेसम्मकै ठूलो छुट मान्न सकिन्छ । त्यस्तै किसिमको छुट पेट्रोल कार बिक्रेताले दिइरहेका छन् ।
यसका अलावा केही समय अगाडिसम्म ईभीमा कुनै किसिमको छुट नदिने कम्पनीहरुले अहिले बीमा, एक वर्षको सवारीकर, स्पेयर टायर, एक्सचेन्ज बोनस जस्ता स्किम दिएका छन् । यसले नयाँ वर्षमा नयाँ गाडी किन्ने योजना बनाएका उपभोक्ताई केही राहत मिलेको छ ।
ग्रेटवाल मोटर्सले पावर पीकअपमा १० लाखसम्मको छुट दिएको छ । हुन्डाईले एक्सचेन्ज बोनस नै १० लाखसम्म र नगद छुट ६ लाखसम्म दिएको छ ।
सुजुकीले नगद छुट १ लाखसम्म, अतिरिक्त छुट १ लाखसम्म, एक्सचेन्ज बोनस २ लाखसम्म, एक वर्षको बीमा र एक वर्षकै सवारी कार दिने योजना ल्याएको छ ।
टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले पनि नयाँ वर्षमा गाडी किन्नेलाई विशेष योजना दिएको जनाएको छ । कम्पनीको सर्वाधिक बिक्री हुने ईभीमा बीमा, एक वर्षको सवारी कर, एक्सचेन्ज बोनस, फास्ट चार्जर र निःशुल्क एशोसरिज दिएको छ ।
निसान, स्कोडा, भिडब्लू जस्ता ब्राण्डले पनि ग्राहक लक्षित अफर दिइरहेका छन् ।

