हिरोले ल्याउने भयो पहिलो स्क्रयाम्बलर मोडल

काठमाडौं । हिरो मोटोकर्पले आफ्नो प्रिमियम मोटरसाइकल माभ्रिक ४४० मा आधारित स्क्रयाम्बलर मोडल ल्याउने भएको छ । कम्पनीले ‘माभ्रिक ४४० स्क्रयाक्बलर’को ट्रेडमार्क दर्ता गरेर नयाँ मोडल ल्याउने तयारी थालेको हो ।

हिरोले केही दिन अघिमात्रै माभ्रिक ४४० को डेलिभरी सुरू गरेको थियो । कम्पनीले हार्ले एक्स ४४० कै इन्जिन प्रयोग गरेर माभ्रिक बजारमा ल्याएको हो । उक्त इन्जिनले २७.३ पीएस पावर तथा ३६ एनएम टर्क जेनेरेट गर्छ ।

कम्पनीले त्यहि इन्जिन प्रयोग गरेर अफरोड क्षमता भएको स्क्रयाम्बलर मोडल ल्याउने तयारीका साथ पेटेन्ट दर्ता गराएको हो । माभ्रिक ४४० जस्तै बडी डिजाइनमा आउने स्क्रयाम्बलरमा फराकिलो सिट र अफ रोडिङ ह्यान्डल हुनेछ ।

अफरोडलका लागि फ्रन्टमा १९ इन्च र रियरमा १७ इन्चको स्पोक ह्वील प्रयोग हुने स्क्रयाम्बलरको उत्पादन बिक्री सन् २०२५ मा हुनेछ । नयाँ मोटरसाइकलमा ६ स्पीड गियरका साथै स्लिपर एसिस्ट क्लच, डबल च्यानल एबीएस, अलोय ह्वील, टर्न वाइ टर्न नेभिगेशन, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर उपलब्ध हुनेछन् ।

भारतमा २ लाख भारतीय रुपैयाँ हाराहारीमा एक्स शोरुम मूल्य हुनसक्ने यो मोटरसाइकलले ट्रायम्फ ४०० एक्ससँग प्रतिस्पर्धा गर्नेछ ।


Back_to_top