भारतीय बजारमा कारको बिक्रीमा आएको गिरावटले सरकारको समेत टाउको दुःखाई रहेको छ । गाडी बिक्रीमा आएको उच्चगिरावटसँगै कम्पनीहरुले दैनिक ज्यालादारीमा काम गर्ने मजदुरको कटौति सुरु गरेका छन् । यस बीचमा मारुती सुजुकी, टाटा, महिन्द्राजस्ता कम्पनीले कामदार कटौति सुरु गरेसँगै बजारमा सून्यताको माहोल देखापरेको छ ।
यस्तोमा अगस्ट महिनाको बिक्री तथ्याङ्क बाहिर आएको छ । भारतमा सर्वाधिक बजार हिस्सा ओगटेको मारुती सुजुकीको बिक्रीमा ३६ प्रतिशतले गिरावट आएको छ । सन् २०१८ को अगस्टमा १ लाख ४५ हजार ६२४ यूनिट कार बिक्री गरेको कम्पनीले २०१९ अगस्टमा ९३ हजार १७३ यूनिट कार मात्र बिक्री गर्न सफल भएको छ ।
भारतको दोस्रो ठूलो कार उत्पादक कम्पनी हुन्डाईको बिक्रीमा पनि यो महिना अघिल्लो वर्षको सोही महिनाको तुलनामा १७ प्रतिशतले गिरावट आएको छ । कम्पनीले अघिल्लो वर्षको अगस्टमा ४५ हजार ८०१ यूनिट कार बिक्री गरेकोमा यस अगस्टमा ३८ हजार यूनिट बिक्री गरेको छ ।
महिन्द्राको बिक्रीमा पनि २७ प्रतिशतले गिरावट आएको छ । कम्पनीले गतवर्षको अगस्टमा १८ हजार ३७ यूनिट बिक्री गरेकोमा यस वर्षको अगस्टमा १३ हजार १५० यूनिट मात्र बिक्री गरेको छ ।
टोयोटाले पनि यो अगस्टमा २४.३ प्रतिशतले बिक्री गुमाएको छ । गतवर्षको अगस्टमा १४ हजार १३६ यूनिट गाडी बिक्री गरेको टोयोटाले यस वर्षको सोही अवधिमा १० हजार ७०१ यूनिट गाडी बिक्री गरेको छ ।
अघिल्लो वर्षको अगस्टमा १८ हजार ४२० यूनिट कार बिक्री गरेको टाटा मोटर्सले यस वर्षको अगस्टमा ७ हजार ३१६ यूनिट मात्र कार बिक्री गर्न सकेको छ । कम्पनीको बिक्रीमा ६० प्रतिशतले गिरावट आएको छ ।
यसका साथै, सबै कम्पनीले आफ्नो बजार हिस्सा गुमाएका छन् ।

