काठमाडाैं । सीएफ मोटोको एड्भेन्चर टूरर मोटरसाइकल भदौमा आउने भएको छ । सीएफ मोटोको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी ऋषि ट्रेड सेन्टरले एमटी ४५० ल्याउने तयारी थालेको हो ।
कम्पनीले एड्भेन्चर सेग्मेन्टका एमटी ४५० नाडा अटो शो २०२४ मा प्रदर्शन गर्ने तयारी थालेको हो ।
कम्पनीले केही समय अगाडि नेपाली बजारमा सीएफ मोटो २५० एनके फन, २५० एसआर फन र ४५० एनके सार्वजनिक गर्दै बुकिङ खुला गरेको थियो ।
योसँगै प्रिमियम एड्भेन्चर टूरर सेग्मेन्टमा नयाँ मोटरसाइकल भित्र्याउने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दिएको छ । यही भदौ ११ गतेदेखि भृकुटिमण्डपमा नाडा अटो शो २०२४ आयोजना हुँदैछ । ऋषि ट्रेड सेन्टरले सीएफ मोटो तथा जिहो ब्राण्डको इलेक्ट्रीक स्कुटरको लागि स्टल बुक गरेको छ ।
नेपालमा बढ्दो एड्भेन्चर टूरिङ कल्चरका कारण कम्पनीले ४५० सीसी सेग्मेन्टको मोटरसाइकल ल्याउने तयारी थालेको बुझिएको छ ।
टफ टेरानका लागि निर्माण गरिएको ४५० एमटी एड्भेन्चर मल्टि टेरेनमा राइडका लागि सक्षम मोटरसाइकल हो । डबल पर्पस टायरसहित आउने यो मोटरसाइकलमा ४५० सीसी, ट्वीन सिलिन्डर इन्जिन दिइएको छ ।
यसमा दिइएको ४४९ सीसी क्षमताको इन्जिनले अधिकतम ८ हजार ५०० आरपीएममा ४४ एचपी पावर र ६ हजार २५० आरपीएममा ४४ एनएम टर्क जेनेरेट गर्छ । ६ स्पीड गियर भएको मोटरसाइकलमा स्लिपर क्लच, डबल च्यानल एबीएस जस्ता फिचर छन् ।
यो सेग्मेन्टमा नेपाली बजारमा बीएमडब्लू जी ३१० जीएस, केटीएम ३९० एड्भेन्चर जस्ता मोटरसाइकल बिक्री भइरहेका छन् ।