सेरेस थ्री किन्ने कि केई एक्स-थ्री प्रो पर्खने ?

काठमाडौं । विद्युतीय कारको आयात तीव्र गतिमा बढ्दा गत नाडा अटो शोबाट बिक्री सुरू भएको सेरेस थ्रीसँग सिधा प्रतिस्पर्धा गर्न केई एक्स–थ्री प्रो मोडल नेपाल आएको छ । जबकी एक वर्षभन्दा कम समयमा नै सेरेसको फेसलिफ्ट मोडल आइसकेको छ ।

निकै प्रतिस्पर्धी मूल्यमा बुकिङ सुरू भएको केई एक्स–थ्री प्रो चिनियाँ टप ५ अटोमोबाइल ग्रुपमा पर्ने चेरीको सहायक कम्पनी हो । त्यस्तै सेरेस ग्रुपमा पनि चिनियाँ सरकारको कन्ट्रोलमा रहेको डोङफेङ मोटर्स साझेदार रहेको छ ।

सेरेस चीनको उदयमान अटोमोवाइल कम्पनी हो । यस्तोमा दुवै कम्पनीको उत्पादनमा कुनै शंका गर्नु पर्ने अवस्था छैन । तर, सेरेस गाडी तत्कालै किन्न पाइन्छ भने एक्स–थ्री प्रो किन्न कुर्नुपर्ने हुन्छ । अहिले बुकिङ गर्नेले पनि अटो शो आसपास (भदौ)मा मात्रै गाडी पाउने छन् ।

कुरा गरौं मूल्यको

सेरेसले आफ्नो टप भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यसको इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ छ ।

केई एक्स–थ्री प्रोको इन्ट्री भेरियन्टको मूल्य ४६ लाख ९६ हजार र टप भेरियन्टको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । मूल्यको हिसाबले एक्स–थ्री प्रो ४ लाखसम्म सस्तो छ ।

 

चार लाख रुपैयाँमा मूल्य फरक भएका दुई गाडीको टप भेरियन्टमा के कस्ता फिचर छन् विषयलाई तल बुँदागत रूपमा हेरौं ।

साइज

गाडीको साइजले पनि धेरै अर्थ राख्छ । लम्बाइमा एक्स–थ्री केही लामो छ । चौडाइ र उचाइमा सेरेस केही अगाडि छ । एक्स–थ्री प्रोको लाम्बाइ ४४४३ एमएम, चौडाइ १८३१ एमएम र उचाइ १६४६ एमएम छ ।

सेरेस–थ्रीको लम्बाइ ४३८५ एमएम, चौडाइ १८५० एमएम र उचाइ १६५० एमएम छ । ह्वील बेस भने सेरेस थ्रीमा २६५५ एमएम हुँदा एक्स–थ्री प्रोमा २६३२ एमएम रहेको छ ।

विद्युतीय गाडी किन्नेले सबैभन्दा धेरै सोध्ने विषय ग्राउन्ड क्लियरेन्स हो । सेरेसमा १९० एमएम र एक्स–थ्री प्रोमा १८३ एमएम ग्राउन्ड क्लियरेन्स छ । ग्राउण्ड क्लियरेन्सको तुलना गर्दा सेरेस–थ्री ७ एमएम बढी अग्लो छ । दुवै एसयूभीमा १८ इन्चको ह्वील छ भने चारै चक्कामा डिसब्रेक पाउन सकिन्छ ।

ब्याट्री साइज

दुवै मोडलमा लगभग एउटै साइजको ब्याट्री प्याक छ । सेरेसमा ५२.७ किलोवाट आवरको टर्नरी लिथियम आयोन ब्याट्री छ । एक्स–थ्री प्रोमा ५३.६ किलोवाट आवरको लिथियम आइरन फस्फेट ब्याट्री छ ।

सेरेस थ्रीले एक पटकको फुलचार्जमा ४०५ किलोमिटर र केईको एक्स–थ्री प्रोले ३७० किलोमिटर रेन्ज दिने एनईडीले प्रमाणित गरेको छ । तर, हामीले गरेको टेष्ट ड्राइभमा ३०० किलोमिटर माथि रेन्ज दुवैमा पायौं ।

चार्जिङ स्पीड र पावर

डीसी चार्जर सपोर्टको मामलामा एक्स–थ्री प्रोमा १०० किलोवाट चार्जर सपोर्ट गर्छ । सेरेस थ्रीले ६० किलोवाटसम्मको फास्ट चार्जर लिन्छ । दुवै एसयूभीमा ३.३ किलोवाटको पोर्टेवल चार्जर दिएका छन् भने केईको एक्सथ्री प्रोमा ७ किलोवाटको होम चार्जर समेत उपलब्ध हुन्छ ।

पावरको मामलामा एक्सथ्री प्रो निकै अगाडि देखिन्छ । यसमा अन्तर्राष्ट्रिय स्पेकको जस्तै १२० किलोवाटको इलेक्ट्रीक मोटर छ । जबकी सेरेस–थ्रीमा ९९ किलोवाटको मोटर पाउन सकिन्छ ।

टर्कको मामलामा एक्सथ्री प्रोले २६० न्यूटन मिटर र सेरेस थ्रीले ३०० न्यूटन मिटर प्रदान गर्छ ।

फ्रन्ट फेसिया, डिजाइन र लाइट

फ्रन्टमा दुवै एसयूभीमा क्लोज ग्रिल पाउन सकिन्छ । एलईडी हेडल्याम्प र एलईडी डीआरएल दुवैमा प्रयोग गरिएको छ । सेरेस–थ्रीमा चार्जिङ पोर्ट परम्परागत आइसीई गाडीको इन्धन भर्ने ठाँउमा दिएको छ । एक्स–थ्री प्रोमा मोर्डन इलेक्ट्रीक भेहिकलमा जस्तै अगाडि दिइएको छ ।

पछाडिको भागमा प्रयोग कनेक्टेड एलईडी लाइटले एक्स–थ्री प्रोलाई मोर्डन एसयूभी बनाएको छ । सेरेस–थ्रीमा भने सामान्य डिजाइनको ब्याक लाइट मात्र पाउन सकिन्छ ।

सस्पेन्सन

दुवै एसयूभीको फ्रन्टमा म्याक पियरसन स्ट्रट सस्पेन्सन दिएको छ । रियरमा भने एक्सथ्री प्रोमा मल्टिलिङ्क इन्डिपेन्डेन्ट सस्पेन्सन रहेको छ । तर, सेरेसमा इन्डिपेन्डेन्ट सस्पेन्सन छैन ।

क्याबिन फिचर

क्याबिन फिचरको तुलना गर्दा सेरेर थ्री र एक्सथ्रीप्रोमा आधारभूत फरक छैन । दुवै ईभीमा मल्टिफङ्सन स्टेरिङ ह्वील छ । एक्स–थ्री प्रोको स्टेरिङ २ स्पोक बटम फ्ल्याट स्पोर्टी छ । सेरेस–थ्रीमा थ्री स्पोक बटम फ्ल्याट छ । सेरेसको स्टेरिङमा मल्टी फङ्सन मोडसमेत छ, जुन एक्सथ्री प्रोमा छैन ।

दुवै एसयूभीमा १०.२५ इन्चको फ्लोटिङ डिजिटल इन्फोटेन्मेन्ट डिस्प्ले रहेको छ । सेरेसको इन्टुमेन्ट क्लस्टर १०.२५ इन्चकै छ भने एक्सथ्री प्रोमा ७ इन्चको मात्र छ ।

दुवै ईभीमा एसी कन्ट्रोलका लागि फिजिकल बटन तथा ६ वटा स्पीकर दिएको छ । गियर सिफ्टर पनि दुवैमा लिभर स्टाइलको छ । सेन्टर कन्सोलमा दुवै ईभीमा वायलेर मोबाइल चार्जिङ प्याड, अटोहोल्ड, इलेक्ट्रीक पार्किङ ब्रेक प्रयोग भएको छ ।

दुवै एसयूभीमा वान टच पावर विण्डो तथा इलेक्ट्रीक ओआरभीएम रहेको छ । एक्सथ्रीप्रोमा म्यानुअल आइआरभीएम र सेरेसमा अटोमेटिक आइआरभीएम छन् ।

सेरेसमा स्पोर्टस, इको र नर्मल गरी ३ थरी ड्राइभिङ मोड छ । एक्स–थ्री प्रोमा भने स्पोट्स र ईको मोड मात्रै छ । क्याबिनमा देखिने अर्को मूल्य फरक भनेको सेरेसमा खोल्न मिल्ने सनरुफ छ । तर, एक्सथ्री प्रोमा प्यानारोमिक स्काई रुफ मात्र छ ।

रहेको छ । दुवै एसयूभीमा लेदरेट सिट कभर छ सेरेसको रियर सिटमा आर्मरेस्ट दिएको छ भने एक्स–थ्रीप्रोमा त्यो मिसिङ छ । दुवै ईभीमा अटोमेटिक हेडलाइटको फिचर छ । एक्सथ्री प्रोमा बोनलेस वाइपर, भेहिकल टु लोड फेसलिटी र फ्रन्ट भेन्टिलेटेड डिसब्रेक छ, जुन सेरेसमा छैन ।

सेरेसमा थप फिचरका रूपमा हिटेड फ्रन्ट सिट, दुवै फ्रन्ट सिट ६ वे एड्जस्टेवल, हिटेड ओराभीएम, रेन सेन्सिङ वाइपर, ड्यासक्याम तथा रुफरेल समेत रहेको छ । सेरेसमा एप्पल कारप्ले तथा एड्रोइड अटोका साथै रियल टाइम अफलाइन जीपीएसको सुविधा छ ।

सुरक्षा फिचर

सुरक्षाका लागि सेरेसमा ६ वटा एयरब्याग रहेको छ । एक्सथ्रीप्रोमा ४ वटा एयरब्याग मात्र रहेको छ । दुवै एसयूभीमा ३६० डिग्री क्यामरा, रियर पार्किङ सेन्सर, ईबीडी, एबीएस, ईबीए, हिल असिस्ट र हिल डिसेन्ट कन्ट्रोल, इलेक्ट्रीक पार्किङ ब्रेक, अटोहोल्ड, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, लेनकिप असिस्ट, ट्रयाक्सन कन्ट्रोल आदि जस्ता सुरक्षा फिचर छन् ।

वारेन्टी

सेरेसले आफ्नो ईभीको ब्याट्री प्याकमा १ लाख ५० हजार किलोमिटर तथा ८ वर्षको वारेन्टी दिएको छ ।

एक्सथ्री प्रोले भेहिकलमा ३ वर्ष वा १ लाख किलोमिटरको र इलेक्ट्रीक मोटर, ब्याट्री तथा सबै इलेक्ट्रोनीक कन्ट्रोलमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरको वारेन्टी अफर गरेको छ ।

निष्कर्ष

दुवै कारमा लगभग उस्तै फिचर छन् । डिजाइनमा फरकपन छ । मूल्यमा ४ लाखको फरक पाउन सकिन्छ । केही फिचर सेरेस–थ्रीमा मात्रै छ, केही फिचर एक्स–थ्री प्रोमा मात्रै छ ।

दुवै गाडीको टेष्ट ड्राइभ गर्नुहोस् । आफूलाई मन परेको गाडी छनोट गर्नुहोस् । सेरेस थ्री तपाईंले तत्कालै किनेर घर लान सक्नु हुन्छ, एक्सथ्री प्रो किन्ने हो भने पर्खनु पर्नेछ ।

 


Back_to_top